सुनसरी गोलीकाण्ड : पीडित–प्रशासनबीच ५ बुँदे सहमति, ७ सदस्यीय छानबिन समिति गठन
२०८२ पुष १७, बिहीबार १५:५१
इनरुवा पुस १७ ,सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएपछि उत्पन्न तनाव अन्त्यका लागि प्रशासन र पीडित पक्षबीच पाँच बुँदे सहमति भएको छ।
बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा भएको वार्तामा घटनाको निष्पक्ष छानबिन गर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिलाउने र रोजगारीको व्यवस्था गर्ने सहमति जुटेको हो। सहमतिपछि क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
बुधबार राति करिब १ बजे भारतबाट सिटी सफारीमा सामान ल्याउँदै गर्दा सशस्त्र प्रहरीको गोली लागेर साहको मृत्यु भएको थियो। घटनापछि आक्रोशित स्थानीयले प्रदर्शन गर्दा प्रहरीसँग झडप हुनुका साथै सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट (बीओपी) मा समेत आक्रमण भएको थियो।
सहमतिका मुख्य बुँदा
सहमतिअनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा नेपाल प्रहरीका डीएसपी तथा राष्ट्रिय अनुसन्धानका प्रतिनिधि सदस्य रहनेछन्। समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।
छानबिनमा सुरक्षाकर्मीको लापरबाही देखिएमा नियमानुसार राहत तथा क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिनेछ। साथै मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रशासनले आवश्यक पहल गर्ने सहमति भएको छ।
त्यसैगरी मृतकका छोराले सशस्त्र प्रहरीमा भर्ना हुन चाहेमा सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीले नियमानुसार सहजीकरण गर्ने उल्लेख गरिएको छ।
सहमतिपछि मृतकको शव पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई बुझाइने र त्यसपछि परिवारले अन्त्येष्टि गर्ने सहमति भएको छ। सहमति पत्रमा स्थानीय प्रतिनिधि, सुरक्षा निकाय र पीडित पक्षका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।




