भक्तपुर पुस १९ , भक्तपुरको हनुमानघाटस्थित पावन त्रिवेणीधाममा परम्परागत माधवनारायण मेलासँगै माधवनारायण व्रत विधिवत् रूपमा सुरु भएको छ। हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने यस व्रतमा श्रद्धालुहरूले त्रिवेणीधाममा स्नान गरी सूर्यदेवलाई अर्घ्य अर्पण गर्दै माधवनारायणको पूजा गरेर व्रत आरम्भ गर्ने परम्परा रहेको छ।

स्थानीय धार्मिक विद्वानका अनुसार, काठमाडौंको साँखुस्थित शालीनदीभन्दा पनि पहिलादेखि त्रिवेणीधाममा यो मेला र व्रत सुरु भएको प्रमाण शिलालेख र प्राचीन ग्रन्थहरूमा उल्लेख छ। ने.सं. ७२२ मा भक्तपुरका राजा रणजीत मल्लले स्वयं व्रतको व्यवस्थापन गरेको तथ्य शिलालेखमा पाइन्छ, जसले यसको ऐतिहासिक र धार्मिक महत्त्वलाई अझ पुष्टि गर्छ।

व्रतालुहरूले माघ शुक्ल पूर्णिमाका दिन बिहान त्रिवेणीखोलामा स्नान गरी माधवनारायणको पूजा, होम तथा आहुति अर्पण गर्छन्। त्यसपछि भक्तपुर नगरका विभिन्न देवालयको परिक्रमा गर्दै अन्त्यमा राजा भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाई व्रत समापन गर्ने परम्परा रहिआएको छ।

धार्मिक आस्था, तपस्या र आत्मशुद्धिको प्रतीकका रूपमा माधवनारायण व्रतलाई विशेष महत्वका साथ पालन गरिँदै आएको छ।