भेनेजुएला काराकासमा पुस १९ , अमेरिकी आक्रमण र राष्ट्रपति निकोलस मादुरोको अवस्थाबारे अनिश्चितताले भेनेजुएलामात्र होइन, विश्व राजनीतिलाई नै गहिरो प्रश्नको सामना गराइरहेको छ। यो घटनालाई केवल एक सैन्य कारबाहीका रूपमा हेर्नु सतही विश्लेषण हुनेछ। यसको भित्री तहमा शक्ति सन्तुलन, अन्तर्राष्ट्रिय कानुन र विश्व व्यवस्था सम्बन्धी गम्भीर संकेतहरू लुकेका छन्।

मादुरोको अवस्थाबारे अस्पष्टता रहनु आफैंमा एक रणनीतिक चाल देखिन्छ। स्पष्ट मृत, पक्राउ वा सुरक्षित अवस्थाबारे जानकारी नआउनु भेनेजुएलाको राज्य संयन्त्रमा भ्रम र डर फैलाउने उद्देश्यसँग जोडिएको देखिन्छ। यस्तो नेतृत्व शून्यताले सेना, प्रशासन र आम नागरिकमा मनोवैज्ञानिक दबाब सिर्जना गर्छ।

अमेरिकाले आक्रमणको स्पष्ट कानुनी आधार सार्वजनिक नगर्नु अन्तर्राष्ट्रिय कानुनको भविष्यका लागि चिन्ताजनक संकेत हो। यदि ‘नार्को–आतङ्कवाद’को आरोपकै आधारमा कुनै देशको राष्ट्रपतिलाई सैन्य बल प्रयोग गरेर नियन्त्रणमा लिइन्छ भने भोलि यो नजिर कसका लागि प्रयोग हुनेछ भन्ने प्रश्न उठ्छ।

यो कारबाही केवल भेनेजुएलातर्फ लक्षित छैन, यो अमेरिका भित्रको राजनीतिसँग पनि जोडिएको देखिन्छ। कठोर विदेश नीतिको प्रदर्शन गरेर आन्तरिक रूपमा शक्ति र निर्णायक नेतृत्वको छवि निर्माण गर्ने प्रयासको रूपमा समेत यसलाई बुझ्न सकिन्छ।

मादुरो चिनियाँ अधिकारीसँग भेटेपछि सार्वजनिक भएका थिए। त्यसपछि भएको आक्रमणले भेनेजुएलाभन्दा बाहिर सन्देश दिएको छ— अमेरिका आफ्ना प्रभाव क्षेत्रभित्र कुनै पनि ‘रणनीतिक सन्तुलन परिवर्तन’ सहन तयार छैन।

सबैभन्दा ठूलो क्षति भने सर्वसाधारणले बेहोर्नुपरेको छ। आवासीय क्षेत्रमा आक्रमण, विद्युत् अवरुद्ध र त्रासको वातावरणले ‘लोकतन्त्र र मानवअधिकार’को नाममा गरिने हस्तक्षेप आफैं कति मानवीय छ भन्ने प्रश्न उब्जाएको छ।

भेनेजुएलामा भएको आक्रमण एउटा देशको सत्ता परिवर्तनको प्रयास मात्र होइन, विश्व व्यवस्थाको चरित्र बदलिँदै गएको संकेत हो। जहाँ नियमभन्दा शक्ति बलियो देखिन थालेको छ। मादुरोको अवस्था जति अज्ञात छ, अन्तर्राष्ट्रिय राजनीतिमा आउने अस्थिरताको दिशा पनि त्यत्तिकै अनिश्चित देखिन्छ।