नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ सम्पन्न, एक–चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धता पुनः स्पष्ट
२०८२ पुष २०, आईतवार २०:३७
काठमाडौं पुस २०, नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा सन् २०२५ भरि दुवै देशमा विभिन्न कार्यक्रम आयोजना गरी उत्सव सफलतापूर्वक सम्पन्न भएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ताले सञ्चारमाध्यमको जिज्ञासामा प्रतिक्रिया दिँदै नेपाल–चीन सम्बन्ध आपसी सम्मान, मित्रता र ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त’मा आधारित रहेको उल्लेख गरे। उनले दुई देशबीचको सम्बन्ध दीर्घकालीन, भरोसायुक्त र संवेदनशीलताप्रति पारस्परिक सम्मानमा आधारित रहेको बताए।
प्रवक्ताले यस अवसरमा एक–चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धता पुनः दोहोर्याउँदै ताइवान चीनको अभिन्न भूभाग रहेको स्पष्ट पारे। नेपाल सरकार चीनको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र एकतालाई निरन्तर समर्थन गर्दै आएको पनि उनले जनाए।
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षे यात्रालाई ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गर्दै आगामी दिनमा सहकार्य अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।




