नयाँदिल्ली  पुस २१, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको उद्देश्य पूरा भएको बताएका छन्। नयाँ दिल्लीमा आयोजित नेकपाको प्रवास कमिटीको एकता सन्देश सभामा बोल्दै उनले भारतका राजनीतिक नेतृत्वसँग नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे अनौपचारिक समीक्षा भएको बताए।

प्रचण्डका अनुसार आइतबार साँझ भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग करिब एक घण्टा वार्ता भएको थियो। उक्त भेटमा डोभालले चुनावमार्फत राजनीतिक निकास खोज्न सुझाव दिएको बताइएको छ।

‘विकसित राजनीतिक घटनाक्रमको समीक्षा र सूचना संकलन नै मेरो भ्रमणको उद्देश्य थियो,’ प्रचण्डले भने, ‘हिजोदेखि आजसम्म भारतीय राजनीतिक मित्रहरूसँग अनौपचारिक छलफल भयो। उद्देश्य पूरा भएको छ।’

उनले भदौ २४ गते देशभर भएको आगजनी र तोडफोड पूर्वनियोजित रहेको दाबी पनि गरे। भदौ २३ गते युवा–विद्यार्थीको हत्या अत्यन्तै क्रूर घटना भएको उल्लेख गर्दै त्यसपछिको विध्वंश जेन–जी आन्दोलनसँग सम्बन्धित नभएको उनको भनाइ छ।

प्रचण्डले जेन–जीहरूको आन्दोलनप्रति समर्थन जनाए पनि हिंसा र लुटपाट स्वीकार्य नहुने स्पष्ट पारे। ‘त्यसबेला देशमा त्रासको वातावरण थियो,’ उनले भने, ‘परिस्थिति नियन्त्रणमा लिन हामीले रातभर पहल गर्‍यौँ र निकासका लागि राष्ट्रपतिसँग समेत वार्ता गरियो।’