विराटनगर पुस २५ चिसोले जनजीवन कठ्याङ्ग्रिँदै गएपछि बुढीगंगा गाउँपालिकामा स्थानीय सरकार सक्रिय रूपमा मैदानमा उत्रिएको छ। अत्यधिक शीतलहर बढेसँगै गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरको नेतृत्वमा विद्यालय र प्रमुख चोक–चोकमा आगो बाल्न दाउरा वितरण सुरु गरिएको छ।

शुक्रबार बिहानैदेखि बुढीगंगाका विभिन्न स्थानमा दाउरा वितरण गरी चोकमा आगो बालिएको छ। आगो तापेर चिसोबाट आक्रान्त स्थानीय बासिन्दा तथा यात्रुले राहत महसुस गरेका छन्। अध्यक्ष थापा मगरले चिसोबाट प्रभावित सर्वसाधारणको सहजताका लागि तत्काल दाउरा व्यवस्थापन गरिएको जानकारी दिए।

संकटको यस घडीमा अन्य निकायको उपस्थिति न्यून रहेको बेला दाउराको व्यवस्था गरी सहयोग गरेको भन्दै स्थानीयले प्रशंसा गरेका छन्।

यसैबीच अध्यक्ष थापा मगरले घुम्ती शैलीमा जेष्ठ नागरिक, वृद्ध, गरिब तथा विपन्न वर्गलाई न्यानो कपडा र कम्मल पनि वितरण गरेका छन्। चिसोमा काँपिरहेका नागरिकसम्म आफैं पुगेर राहत वितरण गरिएको यस पहललाई स्थानीयले मानवीय र संवेदनशील कदमको रूपमा लिएका छन्।

चिसो बढ्दै गए पनि बुढीगंगामा स्थानीय सरकारको तत्परता र सहकार्यले भने नागरिकको मन न्यानो बनाएको छ।