माघ ३ देखि निर्वाचन आचारसंहिता लागू, प्रधानमन्त्रीलाई आयोगको ब्रिफिङ
२०८२ पुष २५, शुक्रबार २०:५८
काठमाडौं, पुस २५ , आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। सो विषयमा आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीलाई औपचारिक जानकारी गराएका छन्।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगका आयुक्त तथा उच्च अधिकारीहरू प्रधानमन्त्री निवास पुगेर निर्वाचन व्यवस्थापन, तयारी र आचारसंहिताका प्रावधानबारे छलफल गरेका हुन्।
भेटमा अर्थमन्त्री रामेश्वर खनाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिकुमार सिन्हा र मुख्यसचिवलगायतको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गरिने आयोगको भनाइ छ।




