काठमाडौं, २६ पुस  नेपाल आयल निगमले आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको तथ्यांक सार्वजनिक गरेको छ। साढे तीन खर्ब रुपैयाँभन्दा बढी कारोबार गर्दै निगमले राज्यलाई १ खर्ब २४ अर्ब रुपैयाँ राजस्व योगदान गरेको छ।

निगमको ५६औँ वार्षिकोत्सवमा तथ्यांक सार्वजनिक गर्दै कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले स्वचालित मूल्य प्रणाली र पूर्वाधार विस्तार नै आजको आर्थिक सफलताको मुख्य आधार भएको बताए। उनका अनुसार २०७१ सालमा लागू गरिएको स्वचालित मूल्य समायोजनले निगमलाई दीर्घकालीन रूपमा सबल बनाएको हो।

गत आर्थिक वर्ष निगमले ३ खर्ब ६७ अर्ब रुपैयाँको कुल कारोबार गरेको थियो। पाइपलाइन, भण्डारण गृह र प्रविधि सुधारमार्फत ढुवानी खर्च घटाउँदा उपभोक्ताले प्रतिलिटर २ रुपैयाँसम्म सस्तोमा इन्धन पाउन थालेका छन्।

मोतिहारी–अमलेखगञ्ज ७२ किलोमिटर पेट्रोलियम पाइपलाइन र अमलेखगञ्जको १७ हजार किलोलिटर क्षमताको भण्डारण गृह सञ्चालनमा आइसकेको छ। पोखरामा ३ हजार ६ सय किलोलिटर क्षमताको हवाई इन्धन भण्डारण गृह निर्माण पनि सम्पन्न भएको छ।

प्रविधितर्फ ‘फ्लो मिटर’ र ईआरपी प्रणाली लागू भएपछि तेल चोरी, चुहावट र मानवीय हस्तक्षेप न्यूनीकरण भएको निगमको दाबी छ। व्यवसायीले मोबाइलमार्फतै तेल अर्डर गर्न सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ।

निगम अब परम्परागत इन्धनबाट माथि उठेर हरित ऊर्जा र विविधीकरणतर्फ अघि बढ्ने तयारीमा छ। पेट्रोलमा इथानोल मिश्रण यसै वर्षदेखि सुरु हुने र काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरी हरित हाइड्रोजनको व्यावसायीकरण गर्दै सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन लक्ष्यमा योगदान दिने योजना रहेको छ।

पूर्वाधार विस्तार अन्तर्गत सिलिगुडी–चारआली तथा मोतिहारी–सर्लाही एलपीजी पाइपलाइन निर्माणका विषयमा भारतीय पक्षसँग छलफल भइरहेको छ। जोखिमयुक्त सिनामङ्गल, भैरहवा र धनगढीका डिपो स्थानान्तरण गरिने तथा कर्णालीमा नयाँ डिपो निर्माण प्रक्रिया अघि बढाइएको निगमले जनाएको छ।

दुर्गम क्षेत्रका ३७ स्थानमा नयाँ पेट्रोल पम्प खोल्ने, ४ सय ५० किलो क्षमताको ग्यास सिलिन्डर प्रचलनमा ल्याउने र निगमलाई पब्लिक लिमिटेडमा रूपान्तरण गरी सर्वसाधारणका लागि सेयर जारी गर्ने विषयमा समेत अध्ययन भइरहेको छ।

करिब ७ सय स्थायी र ३ सय ज्यालादारी कर्मचारीको भरमा देशभर दैनिक ७५ लाख लिटर पेट्रोलियम पदार्थ र १ हजार ५ सय टन ग्यास वितरण भइरहेको उल्लेख गर्दै निगमले कर्मचारीको भूमिकालाई चुनौतीपूर्ण तर गर्विलो भएको बताएको छ।