पुटिन पक्राउ गर्ने प्रश्नमा ट्रम्पले भने– ‘आवश्यक छैन’
२०८२ पुष २७, आईतवार १९:५१
काठमाडौं पुस २७, रुस–युक्रेन युद्ध अन्त्यको कुनै ठोस संकेत नदेखिँदा अन्तर्राष्ट्रिय राजनीति झनै चर्किँदै गएको छ। युद्ध रोक्न प्रयासरत अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्ने सम्भावनालाई अस्वीकार गरेका छन्।
फक्स न्युजका वरिष्ठ ह्वाइट हाउस संवाददाता पीटर डुसीले ट्रम्पसँग प्रश्न गर्दै भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न डेल्टा फोर्समार्फत मिशन चलाइएजस्तै पुटिनलाई पनि पक्राउ गर्ने आदेश कहिल्यै दिनुहुन्छ कि भन्ने जिज्ञासा राखेका थिए।
यसको जवाफमा राष्ट्रपति ट्रम्पले भने, “मलाई त्यस्तो कदम चाल्न आवश्यक लाग्दैन। पुटिन र मेरो सधैं राम्रो सम्बन्ध रहँदै आएको छ। तर अहिले म धेरै निराश छु।”
उनले रुस र युक्रेनबीच शान्ति सम्झौता गराउने प्रयास जारी रहेको जनाउँदै यो प्रक्रिया सजिलो नभएको स्वीकार गरे। ट्रम्पले आफूले यसअघि आठ वटा युद्ध अन्त्य गरिसकेको दाबी गर्दै रुस–युक्रेन युद्ध पनि समाधानतर्फ जाने विश्वास व्यक्त गरे।
ट्रम्पका अनुसार पछिल्लो एक महिनामै करिब ३१ हजार मानिसको ज्यान गएको छ, जसमा ठूलो संख्या रुसी सैनिकहरूको रहेको बताए। उनले रुसको अर्थतन्त्र कमजोर बन्दै गएको र युद्ध चाँडो अन्त्य हुनु आवश्यक रहेको धारणा राखे।
यसैबीच अमेरिका र रुसबीच एक पुरानो खाली तेल ट्यांकरलाई लिएर तनाव बढेको छ। रुसले उक्त ट्यांकरको सुरक्षाका लागि पनडुब्बी र नौसेना परिचालन गरेको थियो। तर अमेरिकाले आइसल्यान्ड नजिक अटलान्टिक महासागरमा जहाज नियन्त्रणमा लिएपछि विवाद चर्किएको हो।
रुसले उक्त कदमको कडा आलोचना गर्दै जहाजका चालकदल सदस्यहरू तत्काल रिहा गर्न माग गरेको थियो। रुसी दबाबपछि अमेरिकाले छिटो प्रतिक्रिया दिँदै ट्यांकरमा रहेका दुई चालकदल सदस्यलाई रिहा गरेको छ।




