१४ सय रोपनीबाट १८ रोपनीमा सीमित विश्व सम्पदा

काठमाडौं पुस २८, युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तूप गम्भीर अतिक्रमणको चपेटामा परेको छ। कुनै समय करिब १४ सय रोपनी क्षेत्रफलमा फैलिएको यो ऐतिहासिक सम्पदा अहिले झन्डै १८ रोपनीमा सीमित हुनु राज्यको गम्भीर असफलताको प्रमाण बनेको छ।

बौद्धनाथ स्तूपको नाममा हाल १५ रोपनी २ आना ३ पैसा र पोखरीको नाममा ३ रोपनी १ आना २ पैसा जग्गामात्र बाँकी रहेको छ। बाँकी यही जग्गामाथि पनि अतिक्रमणको खतरा कायमै छ।

नक्कली मोही खडा गर्ने, कित्ता फोडफाड गर्ने र मालपोत–नापीमा चलखेल गरी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको आरोप गम्भीर बनेको छ। नापी कार्यालय चाबहिलको साबिक रेकर्डमा कित्ता नम्बर १९० र ४७ नेपाल सरकारको नाममा रहेकाले अतिक्रमण संगठित लुट भएको आशंका बढेको छ।

तर सयौं रोपनी अतिक्रमण हुँदा पनि सरकार, नियमनकारी निकाय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन देखिएका छन्। विश्व सम्पदामाथिको यो अतिक्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामै आँच पुर्‍याउने खतरा छ।

सम्पदा कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति होइन, राष्ट्रको साझा धरोहर हो। अब बहस होइन, तत्काल छानबिन, नापी र कानुनी कारबाही अपरिहार्य भएको छ।