समयको संकेत र नेतृत्वको उत्तरदायित्व
२०८२ माघ ३, शनिबार ०७:२५
विराटनगर माघ ३ शनिबार ,
प्रिय शेरबहादुर दाइ,
राजनीतिमा सबैभन्दा कठिन कुरा हार–जित होइन, समयको पदचाप बुझ्न नसक्नु हो। समय कसैको प्रतीक्षा गर्दैन, न इतिहासले बारम्बार अवसर दिन्छ। तपाईंले राजनीति जीवनमा पाउने पनि पाइसक्नुभयो, गुमाउने पनि गुमाइसक्नुभयो। अब प्रश्न व्यक्तिगत चाहनाको होइन, ऐतिहासिक जिम्मेवारीको हो।
तपाईं सभापति रहेको केन्द्रीय कार्यसमितिलाई विस्थापित गर्दै गगन थापाको नेतृत्वमा गठन भएको नयाँ केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले औपचारिक मान्यता दिइसकेको अवस्था छ। यो निर्णय केवल कानुनी प्रक्रिया मात्र होइन, समयले लिएको राजनीतिक दिशा हो। यसलाई अस्वीकार गर्नु भनेको समयसँगै लड्नु हो—जसको अन्त्य सधैं पराजयमै हुन्छ।
अब तपाईंको भूमिका संघर्षको होइन, अभिभावकको हो। पार्टीलाई नयाँ पुस्तामा सुरक्षित रूपमा हस्तान्तरण गर्नु, लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनु, र आफूले नेतृत्व गरेको इतिहासलाई सम्मानजनक ढंगले टुंग्याउनु—यही आजको अपेक्षा हो। थप एकपटक प्रधानमन्त्री बनेर वा फेरि कुनै निर्वाचन जितेर देश, पार्टी वा राजनीतिमा कुनै गुणात्मक परिवर्तन आउने अवस्था देखिँदैन। बरु, त्यसले थकित राजनीति र दोहोरिएको असफलताको कथा मात्र थप्नेछ।
अदालत जानेहरूलाई जान दिनुस्। त्यो उनीहरूको अधिकार हो। तर त्यसको अगुवाइ गरेर थप अपजसको भारी आफ्नै काँधमा बोक्नु आवश्यक छैन। नेतृत्व कहिलेकाहीँ अघि बढेर होइन, एक कदम पछाडि हटेर पनि देखिन्छ।
देखिने गरी निष्क्रिय र नदेखिने गरी सक्रिय बन्ने राजनीतिक शैली अब चल्दैन। आजको राजनीति पारदर्शिता, स्पष्टता र साहसी निर्णय माग्छ। अस्पष्ट चाल, दोहोरो सन्देश र पर्दा पछाडिको खेललाई इतिहासले क्षमा गर्दैन।
यदि तपाईं साँच्चै नेपाली कांग्रेस, लोकतन्त्र र आफ्नै राजनीतिक विरासतप्रति इमानदार हुनुहुन्छ भने, नयाँ नेतृत्वलाई खुलेर बधाई र शुभकामना दिनु नै सबैभन्दा ठूलो योगदान हुनेछ। कहिलेकाहीँ नेतृत्व छोड्नु नै सबैभन्दा ठूलो नेतृत्व हो।
इतिहास तपाईंको निर्णय पर्खिरहेको छ—पदको हैन, भूमिकाको निर्णय।
( लेखक डि.आर.न्याैपानेका निजी विचार हुन् )




