नाङ्गो खुट्टाको यात्रा, शान्तिको भारी सन्देश
२०८२ माघ ३, शनिबार २१:०२अमेरिकामा ३,७०० किलोमिटर लामो बौद्ध पदयात्रा

न्युयोर्क माघ ३ शनिबार ,अमेरिकाको राजमार्ग, सहर र बस्तीहरूमा पछिल्ला महिनाहरूमा एउटा असाधारण दृश्य देखिन थालेको छ—नाङ्गो खुट्टामा हिँडिरहेका भियतनामी बौद्ध भिक्षुहरू। हातमा केही छैन, हतार छैन, तर बोकेका छन् गह्रौं सन्देश—शान्ति, करुणा र अहिंसा।
“शान्तिका लागि यात्रा” नाम दिइएको यो पदयात्रा सन् २०२५ अक्टोबर २६ मा टेक्सासबाट सुरु भएको हो। करिब ३ हजार ७ सय किलोमिटरको यो कठिन यात्रा सन् २०२६ फेब्रुअरीको मध्यतिर वासिङ्टन डी.सी. पुगेर टुंग्याउने लक्ष्य छ। यात्रामा सहभागी १८ जना भिक्षुहरू टेक्सासको फोर्ट वर्थस्थित हुङ दाओ विपश्यना भावना केन्द्रसँग आबद्ध छन्।
भिक्षु भिक्खु पन्नकारा (थिच तुए न्हान) को नेतृत्वमा सुरु गरिएको यो यात्रा धार्मिक प्रचारभन्दा धेरै गहिरो उद्देश्य बोकेको छ। अमेरिकी समाजमा बढ्दो सामाजिक र राजनीतिक विभाजनबीच सजगताको अभ्यास, क्षमाको संस्कृति र आपसी उपचारको भाव जगाउनु नै उनीहरूको मुख्य लक्ष्य हो।
नाङ्गो खुट्टामा हिँड्नु उनीहरूका लागि केवल प्रतीक होइन, साधना हो। “प्रत्येक पाइला सजगतासँग, पृथ्वीसँग जोडिएर चाल्न सकियोस् भन्ने हाम्रो अभ्यास हो,” भिक्षुहरू भन्छन्। यात्राका क्रममा उनीहरू टेक्सास, लुइजियाना, मिसिसिपी, अलाबामा, जर्जिया र क्यारोलाइना राज्य हुँदै विभिन्न समुदायमा पुगेका छन्। त्यहाँ ध्यान, संवाद र विपश्यना शिक्षामार्फत स्थानीय बासिन्दासँग आत्मिक सम्बन्ध गाँसिएको छ।
तर यात्रा सहज रहेन। सन् २०२५ नोभेम्बरमा टेक्सासमै उनीहरूको सुरक्षा गाडीलाई ट्रकले ठक्कर दिँदा दुई भिक्षु गम्भीर घाइते भए। एक जनाले खुट्टा गुमाउनुपर्यो। यो घटनाले समूहलाई हल्लायो, तर रोक्न सकेन। १९ जनाबाट १८ मा झरे पनि यात्रा रोकिएन—बरु उद्देश्य अझ स्पष्ट भयो।
यात्रामा सँगै रहेको उद्धार कुकुर ‘अलोका’ पनि चुनौतीबाट अछुतो रहेन। घुँडाको शल्यक्रिया भोगेपछि पुनः यात्रामा फर्किएको अलोका अहिले सामाजिक सञ्जालमा ‘शान्तिको कुकुर’का रूपमा चिनिन्छ—दृढता र आशाको प्रतीक बनेर।
सामाजिक सञ्जालमार्फत यो यात्रा भाइरल बनेपछि देशभर समर्थन बढेको छ। स्थानीय समुदायहरूले खाना, बास, स्वास्थ्य सेवा र नैतिक हौसला प्रदान गरिरहेका छन्। कतिपय स्थानमा भिक्षुहरूलाई स्वागत गर्न सयौँ मानिस भेला भएका छन्।
भिक्षुहरूको योजना अनुसार यो यात्रा अमेरिकी क्यापिटलमा पुगेर सम्पन्न हुनेछ। त्यहाँ उनीहरूले शान्ति सम्बन्धी पहलहरूलाई राष्ट्रिय प्राथमिकतामा राख्न आह्वान गर्नेछन्। साथै बुद्धको जन्म र ज्ञानप्राप्ति दिवस ‘वेसाक’ लाई अमेरिकामा संघीय बिदाका रूपमा मान्यता दिनुपर्ने माग पनि उनीहरूको एजेन्डामा छ।
नाङ्गो खुट्टाको यो यात्रा अमेरिकाका सडकहरूमा मात्र होइन, मानिसका मनहरूमा पनि पाइला टेक्दै अघि बढिरहेको छ।




