काठमाडौं माघ ६ मंगलबार , प्रधानमन्त्री सुशीला कार्कीले मुलुक निर्वाचनको निर्णायक मोडमा प्रवेश गरेको बताउँदै “सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको” घोषणा गरेकी छन्। मंगलबार देशभर प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयनपत्र दर्ता सम्पन्न भएपछि जारी सन्देशमा उनले लोकतान्त्रिक उत्साहले राजनीतिक र आर्थिक दुवै क्षेत्रमा सकारात्मक ऊर्जा सञ्चार गरेको उल्लेख गरेकी हुन्।

मनोनयन दर्तामा देखिएको व्यापक सहभागितालाई लोकतन्त्रप्रतिको गहिरो विश्वासको संकेत भन्दै प्रधानमन्त्री कार्कीले अब मुलुकमा अन्योल र अनिश्चितताको अवस्था अन्त्य भएको दाबी गरिन्। १६५ प्रतिनिधिसभा सिटका लागि ३ हजार ४ सयभन्दा बढी उम्मेदवार मैदानमा उत्रिनु जनताको सक्रिय राजनीतिक चेतनाको प्रमाण भएको उनको भनाइ छ।

प्रधानमन्त्रीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारिन्। सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगरिने बताउँदै उनले सबै सुरक्षा संयन्त्र उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित रहेको जानकारी दिइन्।

निर्वाचन आयोगले निर्धारित कार्यतालिकाअनुसार जिम्मेवारी निर्वाह गरिरहेकोमा सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमको रचनात्मक भूमिकाको अपेक्षा पनि गरिन्।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई दिगो लोकतान्त्रिक स्थायित्वतर्फको महत्त्वपूर्ण कदमका रूपमा चित्रण गर्दै प्रधानमन्त्रीले सबै नागरिकलाई संयमित, जिम्मेवार र सक्रिय सहभागिताका लागि अपिल गरेकी छन्।