निर्यात वस्तुको अग्रिम सूचना आदान–प्रदान सुरु हुँदै

काठमाडौं माघ ८ बिहीबार , नेपाल र भारतबीच अब एक देशबाट अर्को देशमा निर्यात हुने वस्तुको विवरण पूर्वमै आदान–प्रदान गरिने भएको छ । व्यापार सहजीकरण, भन्सार प्रक्रियालाई छरितो बनाउने र राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यसहित दुवै देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

भारतको नयाँदिल्लीमा बुधबार सम्पन्न कार्यक्रममा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतको तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी) का अध्यक्ष विवेक चतुर्वेदीले समझदारी पत्रमा हस्ताक्षर गरे । मन्त्रिपरिषद्बाट स्वीकृत उक्त समझदारीलाई अन्तिम रूप दिन दुवै देशका प्राविधिक तथा नीतिगत तहमा लामो समयदेखि छलफल हुँदै आएको थियो ।

समझदारी कार्यान्वयनमा आएपछि निर्यात हुने वस्तुको विवरण आगमनअघि नै विद्युतीय प्रणालीमार्फत आदान–प्रदान गरिनेछ । यसले जोखिम व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने, शंकास्पद कारोबारको निगरानी बढाउने र इमानदार व्यवसायीलाई छिटो भन्सार जाँचपासको सुविधा दिने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यो व्यवस्थाले भन्सार सहजीकरणसँगै राजस्व चुहावट नियन्त्रणमा महत्वपूर्ण सुधार ल्याउने विश्वास व्यक्त गरेका छन् ।

भन्सार विभागका महानिर्देशक भण्डारीले यो समझदारीले नेपाल–भारत भन्सार प्रशासनबीचको सहकार्य थप सुदृढ हुने उल्लेख गर्दै यसको शीघ्र कार्यान्वयन आवश्यक रहेको बताए । भारतीय पक्षका अध्यक्ष चतुर्वेदीले पनि समझदारी कार्यान्वयनमा भारत पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे ।

सुरुमा सीमित वस्तुहरूमा परीक्षणका रूपमा लागू गरिने यो प्रणाली सफल भएमा सबै वस्तुहरूमा विस्तार गरिनेछ । कार्यान्वयन क्रममा देखिन सक्ने विवाद आपसी सहमतिमा कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रावधान समेत समझदारीमा समेटिएको छ ।