अमेरिकामा हिउँको तुफान : आकाश र सडक दुवै ठप्प
२०८२ माघ १०, शनिबार १७:२६
न्युयोर्क अमेरिका माघ १०, शनिबार,अमेरिकाको पूर्वी भू–भाग यसपटक हिउँको कठोर परीक्षा झेल्दैछ। न्युयोर्क, न्यु जर्सी र आसपासका क्षेत्र आइतबारदेखि सोमबारसम्म भीषण हिमपातको चपेटामा पर्ने पूर्वानुमान गरिएको छ। मौसमविद्हरूले यसलाई सामान्य जाडो होइन, खतरनाक शीतकालीन आँधी भनेका छन्।
स्थिति गम्भीर बन्दै जाँदा आकाश मार्गमै ठूलो असर देखिएको छ। हालसम्म ८ हजारभन्दा बढी उडान रद्द भइसकेका छन्। भारतको एयर इन्डियाले पनि जनवरी २५ र २६ मा न्युयोर्क र नेवार्कबाट हुने आफ्ना सबै उडान स्थगित गरेको छ।
अमेरिकी मौसम विभागले न्यु मेक्सिकोदेखि न्यु इंग्ल्यान्डसम्म फैलिएका क्षेत्रमा करिब १४ करोड मानिसलाई सचेत रहन चेतावनी दिएको छ। दर्जनौँ राज्यमा संकटकाल घोषणा गरिएको छ।
सबैभन्दा ठूलो चिन्ता भनेको बरफ जम्ने जोखिम हो। पूर्वी टेक्सासदेखि नर्थ क्यारोलिनासम्म सडक, बिजुली लाइन र जनजीवनमा गम्भीर क्षति पुग्न सक्ने जनाइएको छ। मौसमविद्हरू भन्छन्— यसबाट हुने क्षति कुनै ठूलो आँधी वा चक्रवातभन्दा कम नहुन सक्छ।
टेक्सासका गभर्नर ग्रेग एबटले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन्। धेरै राज्यमा मानिसलाई सुरक्षित रहन घरमै बस्न भनिएको छ।




