काठमाडौं माघ १० शनिबार , पूजा महतोको उत्कृष्ट अर्धशतकीय इनिङ्सको मद्दतमा नेपालले आईसीसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले पराजित गर्‍यो ।

टस जितेर ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा १२९ रन बनाएको थियो । जवाफमा नेपालले १९.३ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

नेपालको जितमा पूजा महतोले ५० बलमा चार चौका र दुई छक्कासहित ५२ रनको महत्वपूर्ण योगदान दिइन् । कप्तान इन्दु वर्माले २२ रन बनाउँदा विन्दु रावलले १५ र सीता रानामगरले ११ रन जोडिन् ।

जिम्बाब्वेका लागि जोसेफाइन एनकोमोले दुई विकेट लिइन् भने नोमभेलो सिबान्दा र क्रिस्टाबेल चातोन्ज्वाले समान एक–एक विकेट हात पारिन् ।