हिउँआँधीले अमेरिका ठप्प : १० लाख घर अन्धकारमा, १३ को ज्यान गयो
२०८२ माघ १२, सोमबार ०८:३५
काठमाडौं, माघ १२ साेमबार,अमेरिकामा आइतबार आएको भीषण हिउँआँधीले देशको जनजीवन लगभग ठप्प बनाएको छ। शक्तिशाली आर्कटिक आँधीका कारण करिब १० लाख घर तथा व्यवसायमा विद्युत् सेवा अवरुद्ध भएको छ भने हालसम्म १३ जनाको मृत्यु पुष्टि भएको छ।
स्थिति गम्भीर बन्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० वटा राज्य र राजधानी वासिङ्टन डिसीमा आपत्काल घोषणा गरेका छन्। आपत्काल घोषणासँगै संघीय सरकारले उद्धार, राहत र पूर्वाधार पुनःस्थापनाका लागि उच्च सतर्कता अपनाएको छ।
नेशनल वेदर सर्भिसका अनुसार यो हिउँआँधी करिब ३,२२० किलोमिटर क्षेत्रमा फैलिएको छ। आँधीको प्रत्यक्ष असरमा २१ करोड अमेरिकी नागरिक, अर्थात् देशको झण्डै दुई-तिहाइ जनसंख्या परेको छ
हिमपात र कडा चिसोका कारण हवाई सेवा पनि गम्भीर रूपमा प्रभावित भएको छ। ‘फ्लाइटअवेयर’ का अनुसार शुक्रबारयता ३१ हजारभन्दा बढी उडान प्रभावित भएका छन् भने १८ हजारभन्दा बढी उडान रद्द गरिएका छन्। आइतबार मात्रै १०,८०० भन्दा बढी उडान रद्द भएका थिए। उडान अवरोध अझै केही दिन कायम रहने अनुमान गरिएको छ।
सबैभन्दा धेरै असर टेनेसी राज्यमा परेको छ, जहाँ ३.३७ लाखभन्दा बढी घर र व्यवसाय अन्धकारमा छन्। लुइसियाना, मिसिसिपी, केन्टकी, जोर्जिया, अलाबामा र वेस्ट भर्जिनियामा पनि लाखौँ मानिस बिजुलीविहीन भएका छन्।
हिउँ र असिनाका कारण रुख ढल्नु, विद्युत् तार चुँडिनु र सडक अवरुद्ध हुनु सामान्य बनेको छ। अधिकारीहरूका अनुसार विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु हुन हप्तौँ लाग्न सक्छ।
क्यानडाको सीमावर्ती क्षेत्रमा तापक्रम -३७ देखि -४५ डिग्री सेल्सियससम्म झरेको छ। न्युयोर्ककी गभर्नर क्याथी होचुलले यसलाई ‘हड्डी जमाउने आर्कटिक आँधी’ भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेकी छन्।
आपत्कालपछि फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (FEMA) ले प्रभावित राज्यहरूमा राहत सामग्री, जनशक्ति र खोज–उद्धार टोली परिचालन गरेको छ।




