दुहबी माघ १२ साेमवार ,दुहबी नगरपालिकाले सञ्चालनमा ल्याएको १५ शय्याको नगर अस्पताल नयाँ, सुविधासम्पन्न भवनमा स्थानान्तरण भएसँगै यहाँको स्वास्थ्य सेवा प्रणालीले ऐतिहासिक फड्को मारेको छ। सामान्य स्वास्थ्यचौकीको सीमाभन्दा माथि उठ्दै आधुनिक नगर अस्पतालका रूपमा सेवा विस्तार भएपछि दुहबी र आसपासका नागरिकले आफ्नै नगरभित्र सुरक्षित, गुणस्तरीय र भरपर्दो उपचार पाउन थालेका छन्।

दैनिक बिहान ८ बजेदेखि नियमित ओपिडी सेवा सञ्चालन हुने यस अस्पतालमा विशेषज्ञ चिकित्सकको उपस्थितिसँगै उपचार पद्धतिमा विश्वास बढेको छ। साना–ठूला रोगका लागि अब विराटनगर वा अन्य सहर धाउनुपर्ने बाध्यता हटेको स्थानीयवासी बताउँछन्। दुहबी नगरपालिका–७ का धिरेन्द्र चौधरी भन्छन्, “पहिला बिरामी पर्दा अस्पताल पुग्नै खर्चिलो र झन्झटिलो थियो, अहिले आफ्नै गाउँ नजिकै उपचार पाइँदा निकै राहत मिलेको छ।”

नगर अस्पतालमा भिडियो एक्स–रे, रगत तथा प्रयोगशाला परीक्षण, प्रसूति सेवा र रेबिजजस्ता आकस्मिक उपचारका साथै आवश्यकताअनुसार भर्ना सेवा पनि सञ्चालनमा आइसकेको छ। उपचारका लागि अस्पताल आएकी सखिना खातुनले भनिन्, “यहीँ सबै परीक्षण र उपचार सम्भव हुँदा अब हामीलाई बाहिर जानुपर्ने चिन्ता छैन। स्थानीय सरकार साँच्चै जनताको ढोकासम्म आएको अनुभूति भएको छ।”

यसअघि उपचार खर्चभन्दा बढी रकम यातायातमै खर्च गर्न बाध्य स्थानीय अहिले आफ्नै नगरभित्र सेवा पाएपछि आर्थिक बोझबाट मुक्त भएका छन्। नगर अस्पतालमा हाल १५ शय्याबाट अन्तरङ्ग सेवा सञ्चालन भइरहेको छ भने दैनिक १५० देखि २०० जनासम्म बिरामी ओपिडी सेवामा आउने गरेका छन्। यसले अस्पतालप्रति जनविश्वास बढ्दै गएको स्पष्ट देखाउँछ।

दुहबी नगरपालिका र आसपासका नागरिकका लागि सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्नु नगरपालिकाको मुख्य प्राथमिकता रहेको नगरप्रमुख वेद नारायण गच्छदारले बताए। “नगर अस्पताल पूर्ण रूपमा सञ्चालनमा आएपछि नागरिकको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता पूर्णरूपमा अन्त्य हुनेछ,” उनले विश्वास व्यक्त गरे।

हाल अस्पतालमा छ जना वरिष्ठ चिकित्सक, नर्सिङ हेल्थ असिस्टेन्ट, नर्स , अहेव , अनमी , रेडियोग्राफर , ल्याब टेक्निसियन , ल्याब असिस्टेन्ट , कार्यालय सहयोगी सहित ७० जना जनशक्तिले कार्यरत छन्। उपचार सेवालाई अझ प्रभावकारी र व्यवस्थित बनाउन भिडियो एक्स–रेलाई  फुल्लि अटाेमेसन गर्ने तथा विशेषज्ञ सेवाको दायरा विस्तार गर्ने काम अघि बढिरहेको छ। साथै, सुविधासम्पन्न स्थायी भवन निर्माण भइ उच्चस्तरीय सेवाहरू संचालन रहेको जनस्वास्थ्य अधिकृत विन्देश्वर प्रसाद महताेले वताए ।

स्थानीय तहको दूरदर्शी नेतृत्व र प्रभावकारी व्यवस्थापनमा सञ्चालनमा आएको दुहबी नगर अस्पतालले ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा स्वास्थ्य सेवाको नयाँ मानक स्थापित गर्दै जनताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्दै गएको छ।