निपा भाइरसको त्रास: पश्चिम बङ्गालबाट एशियाभर सतर्कता
२०८२ माघ १३, मंगलवार १६:२०
सिलगुडी माघ १३ मंगलबार ,भारतको पश्चिम बङ्गाल राज्यमा देखिएको घातक निपा भाइरसको सङ्क्रमणले क्षेत्रीय चिन्ता बढाएको छ। घटनापछि नेपालसहित एशियाका विभिन्न देशहरू ‘अलर्ट मोड’ मा गएका छन्
नेपालले भारतसँग जोडिएका सीमाना नाकाहरू र काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतबाट आउने यात्रुहरूको स्वास्थ्य जाँच सुरु गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा निपा सङ्क्रमण पुष्टि भएको छैन, तर जोखिमलाई मध्यनजर गर्दै निगरानी कडा बनाइएको छ।
सावधानी अपनाउने देशको सूचीमा थाईल्यान्ड पनि जोडिएको छ। थाई अधिकारीहरूले पश्चिम बङ्गालबाट हुने उडानमा यात्रुहरूको स्वास्थ्य परीक्षण थालिएको जानकारी दिएका छन्।
यसै महिनाको सुरुमा पश्चिम बङ्गालमा पाँच जना स्वास्थ्यकर्मी निपा भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको थियो। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। सङ्क्रमितको सम्पर्कमा आएका ११० जनालाई क्वारन्टिनमा राखी निगरानी भइरहेको छ।
निपा भाइरस जनावरबाट मानिसमा सर्ने अत्यन्त खतरनाक भाइरस हो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार यसबाट सङ्क्रमित मानिसमा ४० देखि ७५ प्रतिशतसम्म मृत्युदर देखिएको छ। हालसम्म यस भाइरसविरुद्ध कुनै प्रभावकारी औषधि वा खोप उपलब्ध छैन।
स्वास्थ्य विज्ञहरूले अनावश्यक यात्रा नगर्न, सरसफाइमा विशेष ध्यान दिन र शङ्कास्पद लक्षण देखिए तुरुन्त स्वास्थ्य जाँच गराउन आग्रह गरेका छन्। सरकारले अवस्था नजिकबाट नियालिरहेको र आवश्यक परे थप कडा कदम चालिने जनाएको छ।




