चन्द्रमामा होटल! २१ वर्षीय अमेरिकी युवाको साहसी सपना
२०८२ माघ १४, बुधबार १४:१८
न्युयोर्क माघ १४ बुधबार ,अन्तर्राष्ट्रिय पर्यटन अब कल्पनामा सीमित रहने छैन। २१ वर्षीय अमेरिकी युवा स्काइलर च्यानले स्थापना गरेको स्टार्टअप ‘जीआरयू स्पेस’ ले सन् २०३२ सम्म चन्द्रमामा संसारकै पहिलो होटल सञ्चालन गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ
कम्पनीका अनुसार यो होटल केवल वैज्ञानिक परियोजना होइन, बरु धनी अन्तरिक्षप्रेमीहरूका लागि चन्द्रमामै बसोबास गर्ने ऐतिहासिक अवसर हुनेछ। यही कारण, होटलका कोठाहरूको अग्रिम बुकिङसमेत खुला भइसकेको छ।
कोठाको मूल्य करोडौँमा चन्द्र होटलको अन्तिम मूल्य तय नभए पनि एक कोठाको लागत १ करोड अमेरिकी डलरभन्दा माथि पर्न सक्ने अनुमान गरिएको छ। तर अग्रिम बुकिङका लागि भने २ लाख ५० हजारदेखि १० लाख डलरसम्म डिपोजिट राख्न सकिने कम्पनीको भनाइ छ।
रोबोटले बनाउने चन्द्र होटल यस परियोजनाको सबैभन्दा अनौठो पक्ष भनेको यसको निर्माण प्रविधि हो। पृथ्वीबाट सामग्री लैजानुको सट्टा चन्द्रमाकै माटो प्रयोग गरेर रोबोटद्वारा भवन निर्माण गरिनेछ। यसले लागत घटाउनुका साथै चन्द्रमामा दीर्घकालीन संरचना विकासको ढोका खोल्ने विश्वास गरिएको छ।
२०२९ मा निर्माण, २०३२ मा सञ्चालन आवश्यक सरकारी तथा अन्तर्राष्ट्रिय स्वीकृति प्राप्त भएमा २०२९ देखि निर्माण सुरु हुने र २०३२ सम्म होटल सञ्चालनमा आउने कम्पनीको लक्ष्य छ।
स्काइलर च्यान भन्छन्—“यो केवल व्यापार होइन, मानव सभ्यतालाई पृथ्वीभन्दा बाहिर विस्तार गर्ने पहिलो पाइला हो।” चन्द्रमामा रात बिताउने सपना अब विज्ञानकथाबाट व्यवसायिक योजनामा बदलिँदै छ।




