दुहबी नगरप्रमुख र GIZ प्रतिनिधिबीच कृषि उपज विकासबारे छलफल
२०८२ माघ १५, बिहीबार ०६:४१
एक हप्ताभित्र MOU हुने सहमति
दुहबी, १५ माघ विहिबार , हिजो दुहबी नगरपालिकामा आज नगरप्रमुख वेद नारायण गच्छादार र जर्मन सरकारको विकास सहयोग संस्था जिआइजेड (GIZ) का प्रतिनिधिबीच कृषि उपज र स्थानीय आर्थिक विकाससम्बन्धी छलफल सम्पन्न भएको छ।
स्थानीय तथा प्रादेशिक तहमा नीति, कार्यक्रम र आर्थिक अवसर विकास गर्ने, साथै साना व्यवसायी, किसान र सहकारीलाई क्षमता अभिवृद्धि, बजार पहुँच र सञ्जाल निर्माणमा सहयोग गर्ने उद्देश्यसहित कोशी प्रदेशमै पहिलोपटक दुहबी नगरपालिका छनोट भएपछि छलफल अघि बढाइएको हो।
छलफलमा GIZ का प्रतिनिधि मोनिशा श्रेष्ठ र सुदीप कार्की सहभागी थिए। उनीहरूले महिलाहरू र युवाहरूलाई समावेशी आर्थिक अवसरमा पहुँच बढाउने कार्यक्रमको मुख्य लक्ष्य रहेको जानकारी दिए।
प्रोजेक्ट म्यानेजर श्रेष्ठका अनुसार दक्षिण अफ्रिकाका १६ देशमा सफल रूपमा सञ्चालन भइसकेको GRAPE (Green Resilient Agricultural-Centred Private Sector Economic Development) कार्यक्रम नेपालमा GRAPE–II का रूपमा कार्यान्वयन हुन लागेको हो। यसअन्तर्गत कोशी प्रदेशका तीन पालिकामध्ये पहिलो चरणमा दुहबी नगरपालिका छनोट गरिएको हो।
नगरप्रमुख गच्छादारले कृषि नै देशको अर्थतन्त्रको मेरुदण्ड र रोजगारी सिर्जनाको मुख्य आधार भए पनि नीतिगत अस्पष्टता र कमजोर कार्यान्वयनका कारण कृषिबाट पलायन बढ्दै गएको बताए। दुहबी नगरपालिका व्यावसायिक कृषितर्फ अघि बढिरहेको उनले स्पष्ट पारे।
कार्यक्रमले कृषि मूल्य शृंखला, बजार पहुँच, व्यापार सेवा तथा जलवायु अनुकूल अभ्यासमा सहयोग पुर्याउने लक्ष्य राखेको छ। यसबाट महिला र युवाहरू केवल परम्परागत उद्यमी मात्र नभई रोजगारदाता बन्ने अवसर पाउने नगरप्रमुख गच्छादारले विश्वास व्यक्त गरे।
कृषि, पशुपालन, मत्स्य पालन तथा दुग्ध उत्पादनमा संलग्न किसान र युवाहरूलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै दुबै पक्षबीच आगामी एक हप्ताभित्र MOU गर्ने सहमति भएको छ।





