१४ वर्षपछि कमला नदीमा पुल निर्माण अन्तिम चरणमा, अस्थायी डाइभर्सनले यात्रालाई सजिलो बनायो
२०८२ माघ १५, बिहीबार ०८:१७
सिरहा, १५ माघ – सिरहा–धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी डाइभर्सन निर्माण भएपछि स्थानीयको सवारी आवत–जावत सहज भएको छ। भासिएको पुलको ठाउँमा ह्युमपाइप राखेर बनाइएको डाइभर्सनबाट साना–ठूला सबै प्रकारका सवारी सञ्चालनमा आएका छन्।
सिरहा–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार, “हप्तादिन अघिदेखि नै सार्वजनिक सवारी सञ्चालनमा आएका छन्। अब छोटो दूरीबाट जनकपुर आउजाउ गर्न सहज भएको छ।”
गत मङ्सिर ५ गते पूर्वाधारमन्त्री कुलमान घिसिङले पुलको स्थल अनुगमन गर्दै निर्माण कम्पनीलाई तत्काल काम अघि बढाउन निर्देशन दिएका थिए। कम्पनीले तत्कालीन निर्देशन अनुसार डाइभर्सन तयार पारेको हो।
पहिले स्थानीयहरूले जोखिमपूर्ण बाँसको पुल वा डुङ्गा प्रयोग गर्नुपर्ने बाध्यता थियो। बर्खामा पुल बाढीले बगाउँदा स्थानीयले ज्यान जोखिममा राखेर नदी पार गर्नु परेको थियो।
विसं २०६८ मा सुरु भएको कमला पुल १४ वर्षपछि अन्तिम चरणमा पुगेको छ। २०७८ साल असारमा आएको बाढीले दुई पिलर भासिँदा चार स्ल्याबमा क्षति पुगेको थियो।
हाल लुम्बिनी बिल्डर्स दैनिक ४०–५० जना कामदार खटाएर फिनिसिङ र मर्मतको काम गरिरहेको छ। कम्पनीले असार मसान्तभित्र पुलबाटै सवारीसाधन सञ्चालन हुने लक्ष्य राखेको छ।
स्थानीय युवा सत्यनारायण यादवले भने, “डाइभर्सनले तत्कालको समस्या समाधान गरेको भए पनि अब तोकिएको समयमै पुल निर्माण सकिनुपर्छ। सबैले गम्भीर हुनुपर्छ।”
हुलाकी राजमार्गको मेरुदण्ड मानिने यो पुल निर्माण सम्पन्न भएपछि सिरहा–धनुषाका हजारौँ नागरिकको जोखिमपूर्ण यात्रा अन्त्य हुने अपेक्षा गरिएको छ।




