भारतद्वारा नेपाललाई निर्वाचनसम्बन्धी सहयोगको दोस्रो चरण हस्तान्तरण
२०८२ माघ १५, बिहीबार १६:३०
काठमाडौँ, २९ माघ ,भारत सरकारले नेपाललाई उपलब्ध गराएको निर्वाचनसम्बन्धी सहयोगको दोस्रो चरण आज काठमाडौँमा हस्तान्तरण गरिएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेयले २५० भन्दा बढी सवारी साधन नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरे।
उक्त सहयोग आगामी निर्वाचनको तयारीका लागि नेपाल सरकारले माग गरेको सहायताको हिस्सा हो। कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले नेपाल–भारतबीचको लामो समयदेखिको मित्रवत् सम्बन्ध र सहकार्यको प्रशंसा गर्दै सहयोगका लागि भारत सरकार तथा जनतालाई धन्यवाद व्यक्त गरे। उनले निर्वाचन तयारीमा यस सहयोगको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे।
यसअघि, भारत सरकारले निर्वाचनसम्बन्धी सहयोगको पहिलो चरण २० जनवरी २०२६ मा हस्तान्तरण गरेको थियो। बाँकी सामग्रीहरू आगामी हप्ताहरूमा चरणबद्ध रूपमा उपलब्ध गराइने जनाइएको छ।
भारतबाट प्राप्त निरन्तर सहयोगले नेपाल–भारतबीचको बहुआयामिक विकास साझेदारी मात्र होइन, दुवै देशका जनताबीचको आपसी विश्वास र मित्रताको गहिरो सम्बन्धलाई समेत प्रतिबिम्बित गर्ने बताइएको छ।




