खेलकुदमार्फत प्रतिभा पहिचानको प्रयास

भोजपुर माघ १६ , टेम्केमैयुङ गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। माघ १६ गते जनोदय माध्यमिक विद्यालय, टेम्केमैयुङ–७ कोटको खेल मैदानमा आयोजित समारोहबीच गाउँपालिका अध्यक्ष सरोज बस्नेतले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो।

उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रमादेवी राई, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीय अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले राष्ट्रपति रनिङ शिल्डले विद्यालयस्तरका विद्यार्थीको खेलकुद प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।

 उहाँले खेलकुदले अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्ने भएकाले यसलाई शैक्षिक प्रक्रियाको अभिन्न अङ्गका रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो।

गाउँपालिका भित्रका ९ वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा भलिबल, एथलेटिक्स लगायतका विभिन्न खेलकुद विधा समावेश छन्। यस प्रतियोगिताले स्थानीय तहका खेल प्रतिभा पहिचान गर्दै दीर्घकालीन विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। टेम्केमैयुङ गाउँपालिकाले यसअघि लगातार दुई पटक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड उपाधि जितिसकेको छ।

जनोदय माध्यमिक विद्यालय कोटका खेल शिक्षक प्रमेश भारतीका अनुसार उद्घाटनको अवसरमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको थियो। उक्त खेलमा आयोजक जनोदय माध्यमिक विद्यालय प्रथम र सिहदेवी माध्यमिक विद्यालय लेखर्क द्वितीय भएको छ।

प्रतियोगिता माघ १६, १७ र १८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।