एमसिसी प्रसारणलाइन: ४६ मिटर क्षेत्र ‘नो–कन्स्ट्रक्सन जोन’ घोषणा
२०८२ माघ १७, शनिबार ०६:५५सुरक्षा र प्राविधिक कारण देखाउँदै सरकारको कडा निर्णय

काठमाडौं माघ १७, एमसिसी अन्तर्गत निर्माण हुन लागेको ४ सय केभी विद्युत् प्रसारणलाइन वरिपरि अब घर, संरचना मात्र होइन—रुखसमेत रोप्न नपाइने भएको छ। सरकारले राजपत्रमार्फत प्रसारणलाइनको ‘राइट अफ वे’ क्षेत्रलाई पूर्ण प्रतिबन्धित क्षेत्र घोषणा गरेको हो।
प्रसारणलाइनको केन्द्रबाट दायाँ–बायाँ २३–२३ मिटर, कुल ४६ मिटर चौडाइभित्र कुनै पनि भौतिक संरचना निर्माण तथा रुख रोपाइँ निषेध गरिएको छ। यो निर्णय मन्त्रिपरिषद्को स्वीकृतिअनुसार लागू गरिएको हो।
३ सय १५ किलोमिटर लामो यो प्रसारणलाइन काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपरासी पूर्व र पश्चिम गरी १० जिल्लामा फैलिनेछ। करिब १ हजार ३ सय ८१ हेक्टर क्षेत्र यस आयोजनाबाट प्रभावित हुने राजपत्रमा उल्लेख छ।
सरकारका अनुसार उच्च भोल्टेज प्रसारणलाइनको सुरक्षा जोखिम, प्राविधिक संवेदनशीलता र दीर्घकालीन सञ्चालन सुनिश्चित गर्न यस्तो रोक आवश्यक भएको हो।
यसैबीच एमसिए–नेपालले प्रसारणलाइनसँगै तीनवटा अत्याधुनिक सबस्टेसन निर्माणलाई पनि तीव्रता दिएको छ।




