कालापानी माघ १७ ,फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकार र निर्वाचन आयोगले तयारी तीव्र पारेका बेला नेपालकाे भुभागका जनता मतदानबाट वन्चित हुने छन् ।

 नेपालले अद्यावधिक गरेको नक्साभित्र पर्ने दार्चुला पश्चिमका कालापानी, लिपुलेक र लिम्पियाधुरामा बसोबास गर्ने कसैले पनि नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा मतदाता परिचयपत्र नलिएको तथ्य खुलेको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उक्त क्षेत्रका व्यक्तिले पछिल्लो समय नेपाली नागरिकता वा अन्य परिचयपत्र लिएको विवरण छैन। “त्यहाँका मानिसहरू सदरमुकाम खलङ्गा आउँदैनन्, अभिलेखमा पनि नागरिकता लिएको देखिँदैन,” उनले भने।

नेपालले दाबी गर्दै आएको यो क्षेत्र हाल भारतीय नियन्त्रणमा रहेको छ। जानकारहरूका अनुसार त्यहाँका स्थानीयबासीले भारतीय नागरिकता र रासन कार्ड लिएका छन्।