सबै राजनीतिक दल विघटन, सम्पत्ति राज्यको नियन्त्रणमा :बुर्किना फासोमा
२०८२ माघ १७, शनिबार ११:०६
काठमाडौं माघ १७, बुर्किना फासोका सैन्य सरकार प्रमुख क्याप्टेन इब्राहिम ट्राओरेले देशका सबै राजनीतिक दल विघटन गर्ने आदेश जारी गरेका छन्। आदेशअनुसार विघटित दलहरूको सम्पूर्ण चल–अचल सम्पत्ति राज्यको नियन्त्रणमा जानेछ। यससँगै सार्वजनिक तथा आन्तरिक सबै राजनीतिक गतिविधि पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ।
सैन्य सरकारले राजनीतिक दलहरूको अत्यधिक संख्याले भ्रष्टाचार बढाएको, नागरिकहरूबीच विभाजन सिर्जना गरेको र सामाजिक संरचना कमजोर बनाएको दाबी गरेको छ। यही कारण देखाउँदै दलहरूलाई पूर्ण रूपमा विघटन गरिएको जनाइएको छ।
नयाँ आदेशअनुसार राजनीतिक दलसम्बन्धी कानुन, राजनीतिक कोष व्यवस्था र विपक्षी नेताको औपचारिक पदसमेत खारेज गरिने व्यवस्था अघि बढाइएको छ। यसले संगठित विपक्षी राजनीति समाप्त हुने संकेत दिएको छ।
क्याप्टेन ट्राओरे २०२२ सेप्टेम्बरमा सैन्य कू मार्फत सत्तामा आएका थिए। त्यसयता बुर्किना फासोमा राजनीतिक गतिविधि र अभिव्यक्ति स्वतन्त्रतामाथि कडाइ हुँदै आएको छ। सैन्य विद्रोहअघि देशमा १०० भन्दा बढी राजनीतिक दल दर्ता थिए भने २०२० को निर्वाचनपछि १५ दल संसदमा प्रतिनिधित्व गरेका थिए।
बुर्किना फासो पछिल्ला वर्षहरूमा गम्भीर सुरक्षा संकटमा फसेको छ। उत्तरी र पूर्वी क्षेत्रमा सक्रिय जिहादी समूहहरूको हिंसाका कारण हजारौँ नागरिकको ज्यान गएको छ भने लाखौँ विस्थापित भएका छन्। यही सुरक्षा चुनौतीलाई आधार बनाउँदै सेनाले पटक–पटक राजनीतिक हस्तक्षेप गर्दै आएको छ।
ट्राओरेको सत्ता आरोहणअघि सन् २०२२ जनवरीमा राष्ट्रपति रोच मार्क क्रिश्चियन काबोरेलाई कू मार्फत अपदस्थ गरिएको थियो। उक्त कूलाई समर्थन गरेका ट्राओरेले नौ महिनापछि स्वयं अर्को सैन्य विद्रोहमार्फत सत्ता हात पारेका हुन्।
पछिल्लो निर्णयपछि मानव अधिकारकर्मी र अन्तर्राष्ट्रिय समुदायले राजनीतिक स्वतन्त्रता थप संकुचित हुने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार राजनीतिक दल विघटनको निर्णयले देशको लोकतान्त्रिक प्रक्रिया र दीर्घकालीन स्थिरतामाथि गम्भीर असर पार्न सक्छ।




