धरान माघ १९ ,नेतृत्व विकास र सामाजिक उत्तरदायित्वको अभ्यास गर्दै आएको धरान जेसीजले आफ्नो ५०औँ स्थापना दिवसलाई विशेष समारोहका साथ मनाएको छ।

 स्थापना दिवसको अवसरमा पुरस्कार वितरण तथा धरान जुनियर जेसीजको २९औँ अध्यक्ष पदस्थापन समेत सम्पन्न भएको छ

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जेसीजले युवालाई नेतृत्व, सेवा र राष्ट्र निर्माणतर्फ उन्मुख गराउँदै आएको भूमिकाबारे चर्चा गरियो। प्रमुख अतिथि कार्कीले युवाको सक्रिय सहभागिताबिनाको समाज विकास सम्भव नहुने उल्लेख गरे।

समारोहमा जेसी सागर प्रसाईंले अध्यक्षको जिम्मेवारी सम्हाल्दै संस्थालाई अझ प्रभावकारी, समावेशी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै सन् २०२६ का लागि नवनिर्वाचित पदाधिकारीहरूलाई औपचारिक रूपमा परिचय गराउँदै सफल कार्यकालको कामना गरियो।

कार्यक्रममा वक्ताहरूले नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन, सामाजिक उत्तरदायित्व र युवाको भूमिकाबारे आ–आफ्ना दृष्टिकोण प्रस्तुत गरेका थिए। संस्थाको गतिविधिमा उल्लेखनीय योगदान पुर्‍याएका सदस्य तथा व्यक्तित्वहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो।

समारोहले आगामी कार्यकाल सन् २०२६ का लागि धरान जेसीजको दृष्टि सार्वजनिक गर्दै युवामार्फत समाज परिवर्तनको प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।