काठमाडौं, माघ २० देशको पर्यटन क्षेत्र पुनः चलायमान बन्दै जाँदा पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा उल्लेखनीय लगानी भित्रिएको छ। झण्डै १० करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण सम्पन्न भएको चारतारे ‘भिष्टा लग्जरीयर्स रिसोर्ट’ आगामी हप्ताबाट सफ्ट ओपनिङसहित सञ्चालनमा आउने तयारीमा छ।

पछिल्लो समय विदेशी तथा आन्तरिक पर्यटकको आगमन बढ्दै गएसँगै पर्यटन क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको हो। यही क्रममा भेडेटारको पर्यटन विकासमा नयाँ आयाम थप्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय स्तरको सेवा–सुविधा सहित रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको रिसोर्टका भाइस प्रेसिडेन्ट नारायण कटुवालले जानकारी दिए।

कटुवालका अनुसार, “भेडेटारमा बढ्दो पर्यटक चाप र मागलाई मध्यनजर गर्दै चारतारे स्तरको सुविधा उपलब्ध गराउने लक्ष्यसहित यो परियोजना अघि बढाइएको हो। यसले भेडेटारको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ।”

भेडेटारमा हालसम्म स्थानीय ब्रान्डका होटलहरू मात्रै सञ्चालनमा रहेको अवस्थामा भिष्टा लग्जरीयर्स रिसोर्ट पहिलो अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड सरहको रिसोर्ट भएको मेनेजिङ डाइरेक्टर प्रदीप पोखरेलले बताए। उनका अनुसार सुरुमा १० करोड लागत अनुमान गरिए पनि सुविधा विस्तार र गुणस्तर वृद्धिका कारण लागत अझै बढ्ने देखिएको छ।

करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा हाल २२ वटा कोठा सञ्चालनमा रहेका छन् भने थप १५ वटा कोठा निर्माणाधीन अवस्थामा छन्। स्विट, डिलक्ससहित पाँच प्रकारका अत्याधुनिक कोठाहरू रिसोर्टमा उपलब्ध हुनेछन्।

हेरिटेज र बुटिक शैलीमा निर्माण गरिएको रिसोर्टमा बैंक्वेट हल, सेमिनार हल, लबी लाउञ्ज, अल–डे डाइनिङ रेष्टुरेन्ट, रुफटप रेष्टुरेन्ट,आउटसाइट बार्विक्युव , स्विमिङ पुल, स्पासहितको हेल्थ क्लब, पूर्वमै पहिलोपटक होटलभित्रै फन पार्क, एमपी थिएटर, टेनिस कोर्ट, पदयात्रा मार्ग, आफ्नै बेकरी, ग्रिल बार तथा रेष्टुरेन्ट जस्ता आकर्षक सुविधा रहनेछन्।

प्रमुख भवनको दाेस्राे तल्लामा रहेको नाेरा रेष्टुरेन्टबाट हिमालीदेखि तराईको हरियाली जंगलको मनमोहक दृश्य अवलोकन गर्न सकिनेछ। रिसोर्टभित्रका प्राकृतिक दृश्य र संरचनाले पाहुनालाई शान्त र आनन्ददायी अनुभव प्रदान गर्ने सञ्चालक पक्षको दाबी छ।

पर्यावरणमैत्री संरचना र नेपाली मौलिक संस्कृति झल्किने सामग्री प्रयोग गरी निर्माण गरिएको यस रिसोर्टले १०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने लक्ष्य राखेको छ

मेनेजिङ डाइरेक्टर पोखरेलका अनुसार रिसोर्ट सञ्चालनका लागि उच्च व्यवस्थापन, सेल्स एण्ड मार्केटिङ, इन्जिनियरलगायत विभिन्न पदमा कर्मचारी भर्ना प्रक्रिया सुरु भइसकेको छ। लामो समयसम्म विदेशका अन्तर्राष्ट्रिय स्तरका होटलहरूमा काम गरी अनुभव बटुलेका पोखरेलको नेतृत्वले रिसोर्टलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

चारतारे सुविधासहित सञ्चालनमा आउन लागेको भिष्टा लग्जरीयर्स रिसोर्टले भेडेटारलाई पूर्वी नेपालको नयाँ लक्जरी पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।