विराटनगर माघ २१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) पूर्वी नेपालको दौडाहामा व्यस्त देखिएका छन्। मोरङ, सुनसरी र उदयपुरका स्थानीय तहमा आयोजित भेटघाट तथा स्वागत समारोहहरूमा उनी प्रायः मौन रहँदै पनि सशक्त सन्देश प्रवाह गर्दै आएका छन्

राजनीतिक विश्लेषकहरूले बालेनको यो रणनीतिक शैलीलाई ‘धेरै नबोल्ने, धेरै भेट्ने’ रणनीति भनेर व्याख्या गरेका छन्। मोरङको उर्लाबारीबाट सुरु भएको यात्रा विराटनगर हुँदै सुनसरी र उदयपुरसम्म पुग्दा उनले सुशासन, पारदर्शिता र नागरिक सहभागितामा जोड दिए। विशेषगरी खुवालुङको भ्रमणले पूर्वी नेपाली मतदाताको सांस्कृतिक–भावनात्मक संवेदनशीलता बुझ्ने उनको रणनीति झल्काएको छ।

उर्लाबारी र इटहरीमा आयोजित कार्यक्रमहरूमा बालेनले राज्य संयन्त्रभित्रको बेथिति, अनावश्यक खर्च र जवाफदेहिताको अभावप्रति टिप्पणी गर्दै स्थानीय तहलाई बलियो बनाउनु संघीय संरचनाको औचित्य सुनिश्चित गर्ने आधार भएको बताए। तर, आफ्नै पार्टीका उम्मेदवार लालविक्रम थापाले माला लगाउन खोज्दा बालेनले त्यसलाई अस्वीकार गरे, जसले राजनीतिक वृत्तमा चर्चा पैदा गर्यो।

युवा राजनीतिक विश्लेषक दर्शनराज न्याैपानेका अनुसार, बालेनको दौडाहा ‘सेन्टिमेन्टल मार्केटिङ’को उदाहरण हो। धार्मिक र सांस्कृतिक तीर्थस्थलहरूको भ्रमण, प्रत्यक्ष भेटघाट र मौन शैलीले युवा मतदाता मात्र नभई परिपक्व मतदातालाई पनि आकर्षित गर्दैछ। झापा–५ मा ओलीसँगको सम्भावित प्रतिस्पर्धाले आगामी निर्वाचनमा राजनीतिक माहोल थप रोचक बनाउने देखिन्छ।

रास्वपाका नेताहरूको अनुसार बालेनले मुलुकभरका १६५ निर्वाचन क्षेत्रको भ्रमण गर्ने योजनालाई छोटो, द्रुत गतिमा पूरा गर्दै मतदाता र कार्यकर्तामा उत्साह र कौतूहल बढाएका छन् साथै  बालेनले प्रत्यक्ष भेटघाट र सेल्फीमार्फत नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गरिरहेका छन्।

पूर्वी नेपालमा बालेनको मौन, सन्देशमूलक, सांस्कृतिक–आध्यात्मिक दृष्टिकोणले चुनावी रणनीतिमा नयाँ बहस सुरु गरेको छ। आगामी फागुन २१ गतेको निर्वाचनले यस रणनीतिको प्रभाव स्पष्ट देखाउने अनुमान गरिएको छ।