वार्मअपमै नेपालले देखायो लय
२०८२ माघ २२, बिहीबार १७:०३क्यानडामाथि ६ विकेटको जित, आसिफको ब्याटबाट आत्मविश्वासको सन्देश

काठमाडौं माघ २२ , आईसीसी टी–२० विश्वकपअघिको तयारी यात्रामा नेपालले उत्साहजनक संकेत दिएको छ । वार्मअप चरणको दोस्रो खेलमा क्यानडालाई ६ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
चेन्नाईस्थित एमए चिदम्बरम रंगशालामा क्यानडाले दिएको १६२ रनको चुनौती नेपालले १८ ओभरमै चार विकेट गुमाएर पूरा गर्यो । जितको आधार ओपनर आसिफ सेखको आक्रामक अर्धशतक बन्यो । उनले २९ बलमा ६ चौका र ३ छक्कासहित ५८ रन जोड्दै इनिङ्सलाई गति दिए ।
आसिफलाई सन्दीप जोराले ४४ रनको योगदान दिएर राम्रो साथ दिए । गुल्सन झाले ३१ रन जोडे भने कुशल भुर्तेल १२ रनमा सीमित रहे ।
यसअघि ब्याटिङ गरेको क्यानडाका लागि नभ्नीत धलिवालले ४१ रन बनाए भने श्रेयस मोभा ३८ रनमा अविजित रहे । नेपालका बलरमध्ये कुशल भुर्तेल र सन्दीप लामिछानेले दुई–दुई विकेट लिएर प्रभावशाली प्रदर्शन गरे ।
यस जितसँगै नेपालले विश्वकपअघि आफ्नो तयारी सशक्त बनाएको संकेत दिएको छ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपमा नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्दै अभियान सुरु गर्नेछ




