काठमाडौं माघ २२, सिंहदरबार आगजनी घटनामा जोडिएर एक व्यक्तिमाथि कानुनी कारबाही अघि बढेको छ । आफूले नै आगजनी गरेको दाबी गर्दै सार्वजनिक रूपमा दिएको अन्तर्वार्तापछि चितवन खैरहनी नगरपालिका–९ का महेन्द्र गौतम प्रहरी नियन्त्रणमा परेका हुन् ।

काठमाडौं जिल्ला अदालतले उनलाई ‘आपराधिक उपद्रव’ कसुरमा अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र पसेर गृह मन्त्रालयसहित विभिन्न कार्यालयमा आगो लगाएको दाबी उनले अन्तर्वार्तामा गरेका थिए ।

सोही अभिव्यक्तिलाई आधार बनाएर बुधबार (माघ २१) उनलाई पक्राउ गरिएको हो । अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठका अनुसार प्रहरीको माग बमोजिम पहिलोपटकका लागि पाँच दिनको म्याद थप गरिएको हो ।

प्रकरणले अभिव्यक्तिको स्वतन्त्रता र कानुनी जिम्मेवारीबीचको बहसलाई समेत सतहमा ल्याएको छ ।