उड्ने देवताको अवतरण, कार्यकर्ता आरतीमा व्यस्त!
२०८३ आश्विन २९, बिहीबार १८:३९
दर्शनराज न्यौपाने
नेता विमानस्थलमा ओर्लिन्छन्, कार्यकर्ता स्वागतमा लामबद्ध हुन्छन्। कसैको हातमा फूलमाला, कसैको हातमा खादा, अनुहारमा मुस्कान र मनमा पद तथा अवसरको मधुर सपना! दृश्य हेर्दा लाग्छ, विमानस्थलमा नेता होइन, साक्षात् देवताको अवतरण हुँदैछ।
देशमा लोकतन्त्र छ, गणतन्त्र छ, नेपाली कांग्रेसमा रूपान्तरणको अभियान पनि चलिरहेको छ। तर राजनीतिक व्यवहार हेर्दा लाग्छ, व्यवस्था फेरिए पनि संस्कार अझै दरबारकै बाँकी छ। सिंहासनको ठाउँ कुर्सीले लिएको छ, राजाको ठाउँ नेताले र दरबारियाको ठाउँ कार्यकर्ताले!
नेता आउँछन्, जयजयकार हुन्छ। माला लगाइन्छ, खादा ओढाइन्छ, तस्बिर खिचिन्छ र सामाजिक सञ्जालमा भक्तिभावसहित सार्वजनिक गरिन्छ। जनताका समस्या भने जस्ताको तस्तै रहन्छन्। बेरोजगारी, महँगी, सुशासन र विकासका मुद्दा ओझेलमा पर्छन्, नेताको स्वागतचाहिँ राजनीतिक निष्ठाको प्रमाणपत्र बन्छ।
कांग्रेस रूपान्तरणको कुरा गर्छ, तर व्यवहारमा चाकरी संस्कारको निरन्तरता देखिन्छ। विचारभन्दा व्यक्ति ठूलो, योग्यताभन्दा निकटता महत्त्वपूर्ण र जनसेवाभन्दा नेताको निगाह निर्णायक हुने प्रवृत्तिले पार्टीभित्रको लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउँछ।
राजनीतिमा कार्यकर्ताको भूमिका नेताको आगमनमा ताली बजाउनु र प्रस्थानमा हात हल्लाउनु मात्र होइन। कार्यकर्ता विचारका संवाहक हुन्, नेताका प्रशंसक मात्र होइनन्। जब स्तुतिगानलाई निष्ठा, चाकरीलाई समर्पण र मौनतालाई अनुशासन ठानिन्छ, तब संगठन राजनीतिक चेतनाको थलो नभई व्यक्तिपूजाको मञ्चमा रूपान्तरित हुन्छ।
यस्तो लाग्छ, कांग्रेसले रूपान्तरणका लागि छुट्टै विभाग खोल्नुभन्दा पहिले स्वागत तथा सत्कार विभागलाई नै राष्ट्रिय महत्त्वको जिम्मेवारी दिए हुन्छ। कार्यकर्ताको उपस्थिति, मालाको आकार, खादा ओढाउने गति र तस्बिर सार्वजनिक गर्ने समयका आधारमा राजनीतिक सक्रियता मापन गर्ने नयाँ मापदण्ड बनाए पनि हुन्छ। जनताको काम पछि हुँदै गर्ला, नेताको स्वागतमा ढिलाइ हुनु भएन!
विडम्बना, नेताको प्रशंसा गर्न शब्दको अभाव हुँदैन, तर जनताको पीडा बोल्न आवाज कमजोर हुन्छ। विमानस्थलमा स्वागत गर्न सयौँ हात उठ्छन्, तर अन्यायविरुद्ध प्रश्न गर्न कति हात उठ्छन् भन्ने हिसाब राखिँदैन।
लोकतन्त्रमा नेता जनताका प्रतिनिधि हुन्, आराधनाका पात्र होइनन्। उनीहरूको सम्मान कामबाट हुनुपर्छ, चाकरीबाट होइन। राजनीतिक निष्ठा विचारप्रतिको प्रतिबद्धतामा देखिनुपर्छ, फूलमाला र जयजयकारको प्रदर्शनमा होइन।
कांग्रेसले साँच्चै रूपान्तरण चाहेको हो भने नेताको देवत्वकरण होइन, जवाफदेहिताको संस्कार विकास गर्नुपर्छ। स्वागतका लागि खर्चिने ऊर्जा जनताको सेवामा लगाउनुपर्छ। कार्यकर्ताले प्रशंसाको भाषा मात्र होइन, आलोचना गर्ने साहस पनि राख्नुपर्छ।
अन्यथा रूपान्तरणको अभियान चलिरहनेछ, भाषण गुञ्जिरहनेछ, नारा फेरिइरहनेछ, तर विमानस्थलको दृश्य उही रहनेछ। नेता अवतरण गर्नेछन्, कार्यकर्ता आरती उतार्नेछन् र जनता परिवर्तनको प्रतीक्षामा बसिरहनेछन्।
नेता विमानस्थलमा ओर्लिन्छन्, जयजयकार गुञ्जिन्छ। देश भने अझै परिवर्तनको उडान पर्खिरहेको छ!




