दौड जितेर राजा बन्ने इतिहास : लिगलिगकोटको गौरवगाथा
२०८३ आश्विन २९, बिहीबार १३:०४
गोरखा। आज जनताले मत दिएर नेतृत्व छान्छन्। तर नेपालको इतिहासमा एउटा यस्तो परम्परा थियो, जहाँ दौडमा सबैभन्दा पहिले गन्तव्यमा पुग्ने व्यक्ति राजा बन्ने अवसर पाउँथ्यो। यही विशिष्ट परम्पराले गोरखाको पालुङटारस्थित लिगलिगकोटलाई ऐतिहासिक पहिचान दिएको छ।
प्रचलित ऐतिहासिक विवरणअनुसार बाइसे–चौबिसे राज्यकालमा विजयादशमीका दिन चेपेघाटदेखि लिगलिगकोटसम्म दौड आयोजना गरिन्थ्यो। दौड जित्ने व्यक्ति राजा बन्ने परम्परा रहेको बताइन्छ। वि.सं. १६१६ तिर द्रव्य शाहले लिगलिगकोटमाथि अधिकार जमाएपछि यो परम्परा अन्त्य भएको मानिन्छ। त्यसपछि विकसित गोरखा राज्यले नेपालको एकीकरणको इतिहासमा महत्त्वपूर्ण भूमिका खेल्यो।
इतिहासको यही विरासतलाई जीवन्त राख्न वि.सं. २०६७ देखि आधुनिक स्वरूपमा लिगलिग दौड आयोजना हुँदै आएको छ। यस वर्ष असोज २९ गते हुने १२औँ प्रतियोगिता चेपेघाटदेखि लिगलिगकोटसम्मको १३.८ किलोमिटर दूरीमा सञ्चालन हुने कार्यक्रम छ।
प्रतियोगितामा प्रथम हुने धावकले एक लाख १२ हजार ११२ रुपैयाँ, द्वितीयले ८७ हजार ११२, तृतीयले ६२ हजार ११२ र सान्त्वना स्थान प्राप्त गर्नेले ४२ हजार ११२ रुपैयाँ पुरस्कार पाउनेछन्। विजेतालाई श्रीपेच र पगरी पहिर्याएर एक दिनका लागि ‘राजा’को उपाधि दिने परम्पराले प्रतियोगितालाई थप विशिष्ट बनाएको छ।
लिगलिग दौड खेलकुद प्रतियोगिता मात्र होइन, इतिहास, संस्कृति र पर्यटन जोड्ने माध्यम पनि हो। यसले नयाँ पुस्तालाई नेपालको राजनीतिक इतिहाससँग परिचित गराउनुका साथै पालुङटारको पर्यटकीय सम्भावना उजागर गर्न सक्छ।
तर, यसको दीर्घकालीन महत्त्व बढाउन ऐतिहासिक सम्पदाको संरक्षण, प्रमाणमा आधारित इतिहास अभिलेखीकरण, पर्यटन पूर्वाधारको विकास र स्थानीय समुदायको सहभागिता आवश्यक छ।
कुनै समय दौड जितेर राजा बन्ने इतिहास बोकेको लिगलिगकोट आज आफ्नो विरासत जोगाउँदै पर्यटन र स्थानीय समृद्धिको नयाँ दौडमा अघि बढिरहेको छ। यसको वास्तविक विजय इतिहासलाई उत्सवमा मात्र सीमित नराखी भावी पुस्ताका लागि जीवन्त सम्पदा बनाउनुमा छ।




