विराटनगर माघ २३ , नेपाल–भारत सीमा सुरक्षालाई अझ सुदृढ बनाउने उद्देश्यसहित मोरङको विराटचोकमा सञ्चालन भइरहेको उच्चस्तरीय समन्वय बैठक एकाएक शोकमा परिणत भयो। बैठककै क्रममा अचानक बेहोस भई ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको उपचारका क्रममा निधन भएको छ।

नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) बीच डीआईजी तहको समकक्ष बैठक चलिरहेकै बेला घिमिरे असहज महसुस गर्दै ढलेपछि वातावरण स्तब्ध बनेको थियो। तत्कालै उद्धार गरी विराट मेडिकल कलेज पुर्‍याइएका घिमिरेलाई बचाउन चिकित्सकहरूले हरसम्भव प्रयास गरे पनि सफल हुन सकेनन्।

अस्पताल स्रोतका अनुसार राति ८ बजेर ५२ मिनेटमा उनको मृत्यु भएको पुष्टि गरिएको हो। प्रारम्भिक परीक्षणमा उनलाई उच्च रक्तचापको समस्या देखिएको जनाइएको छ।

सीमा सुरक्षामा लामो समयदेखि समर्पित एक कर्मठ अधिकृतको आकस्मिक निधनले सशस्त्र प्रहरी बलसहित सुरक्षा निकाय र सहकर्मीहरूलाई गहिरो शोकमा डुबाएको छ। सीमा सुरक्षाका सवालमा सक्रिय भूमिकामा रहेका घिमिरेको असामयिक अवसानलाई सुरक्षा क्षेत्रले अपूरणीय क्षति मानेको छ।