बुढीगंगा, मोरङ, माघ २४ ,बुढीगंगा साझा स्वास्थ्य सेवा ट्रष्ट तथा बुढीगंगा गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमार्फत ३०० भन्दा बढी नागरिकले आँखा परीक्षण सेवा लिएका छन् भने ३५ जना मोतियाबिन्दुका बिरामीले निःशुल्क शल्यक्रिया सेवा प्राप्त गरेका छन् ।

पालिकाको शहरी क्षेत्रमा आँखासम्बन्धी समस्या बढ्दो देखिएकाले मोतियाबिन्दुका बिरामीहरूको समयमै पहिचान गरी सफल शल्यक्रिया मार्फत उनीहरूको गुमेको दृष्टि पुनःस्थापना गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले बताए ।

अध्यक्ष थापा मगरले बुढीगंगा साझा स्वास्थ्य सेवा ट्रष्टले स्वास्थ्य सेवाका क्षेत्रमा निरन्तर रूपमा उदाहरणीय कार्य गर्दै आएको उल्लेख गर्दै सेवाको अभियानको नेतृत्व गरिरहेको दर्शनराज न्यौपाने नेतृत्वको टिमको खुलेर प्रशंसा गरे । युवाहरू मानवीय सेवामा समर्पित हुँदा समाजमा सकारात्मक परिवर्तन सम्भव हुने वताएका छन्

उक्त कार्यक्रममा ट्रष्टका अध्यक्ष दर्शनराज न्यौपानेको सभापतित्वमा समारोह सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य किरण चौधरी, समाजसेवी प्रदीप विश्वास, युवा नेता विष्णु बुढाथोकी, निराजन घिमिरे, राजेश घिमिरे, लेखनाथ अधिकारी, हरि थापा, मीना विश्वास, उर्वशी चौधरी र कमला थापालगायतको उल्लेख्य उपस्थिति रहेको थियो

प्राविधिक सहयोग नेपाल नेत्र ज्योती संघ लहान आँखा तथा कान उपचार प्रणाली  बिराटनगर आँखा अस्पताल, रानी CBM रहेको थियोे ।

आर्थिक अभावका कारण उपचारबाट वञ्चित तथा अस्पतालसम्म पुग्न नसक्ने बिरामीहरूलाई लक्षित गरी सञ्चालन गरिएका यस्ता स्वास्थ्य शिविरहरूले समुदायमा प्रत्यक्ष लाभ पुर्‍याएको र सामाजिक सेवाप्रति विश्वास अझ मजबुत बनाएको स्थानीय आयोजकहरूको भनाइ छ ।