उर्लाबारी भेट्रान्सको दमदार प्रदर्शन, पथरी शनिश्चरे गोल्डकपको ताज उर्लाबारीलाई
२०८२ माघ २५, आईतवार ०९:५८
मोरङ माघ २५ , दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि उर्लाबारी भेट्रान्सले आफ्नो नाममा सुरक्षित गरेको छ । फाइनल खेलमा सतिसाले भेट्रान्सलाई २–० गोलले पराजित गर्दै उर्लाबारीले उपाधिसहित नगद एक लाख ११ हजार १११ रुपैयाँ हात पारेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा उर्लाबारीले खेलको लय आफ्नो पक्षमा मोड्न सफल भयो । ४२औँ मिनेटमा विकास राईले गोल गर्दै टिमलाई अग्रता दिलाए भने ७२औँ मिनेटमा मित्त बस्नेतले अर्को गोल थप्दै उपाधि पक्का गरे ।
खेलमा निर्णायक भूमिका खेलेका विकास राई म्यान अफ दी म्याच घोषित भए । उर्लाबारीका गोलरक्षक विनोद गौतम गोल्डेन ग्लोभ्स प्राप्त गर्न सफल भए । दुवै खेलाडीले नगद पाँच–पाँच हजार रुपैयाँ पुरस्कार पाए ।
उपविजेता सतिसाले भेट्रान्सका निरु लिम्बूले गोल्डेन बल र जीवन लिम्बूले गोल्डेन बुट हात पार्दै क्रमशः नगद पाँच हजार र सात हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।
पथरी शनिश्चरे भेट्रान्सद्वारा आयोजित प्रतियोगितामा झापा, मोरङ र सुनसरीका आठ टिमको सहभागिता रहेको थियो । माघ १७ देखि २४ गतेसम्म प्रस्तावित पथरी रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको मुख्य प्रायोजक पथरी शनिश्चरे नगरपालिका रहेको थियो ।
पहिलो पुरस्कार मेचिकाली रेस्टुरेन्ट मलेसियाले र दोस्रो पुरस्कार सञ्जीव लिङ्देनले प्रदान गरेका थिए ।




