बेथेल–ब्रुकको साझेदारीपछि इंग्ल्यान्डको १८४, नेपालसामु ऐतिहासिक जितको १८५ रनको चुनौती
२०८२ माघ २५, आईतवार १७:३४
मुम्बई माघ २५ ,आईसीसी टी–२० विश्वकपको रंगमञ्चमा पहिलोपटक आमनेसामने उत्रिएका नेपाल र इंग्ल्यान्डबीचको खेल रोमाञ्चक मोडमा पुगेको छ । मुम्बईको वान्खेडे रंगशालामा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८४ रन बनायो र नेपाललाई १८५ रनको लक्ष्य प्रस्तुत गर्यो ।
इंग्ल्यान्डको इनिङ्सको मेरुदण्ड बने ज्याकोब बेथेल र कप्तान ह्यारी ब्रुक । ५७–३ को दबाबपूर्ण अवस्थाबाट मैदान सम्हालेका यी दुईले पाँचौँ विकेटका लागि ७१ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धी योगफलतर्फ डोर्याए ।
बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित ५५ रन जोड्दा ब्रुकले ३२ बलमा चार चौका र तीन छक्कासहित ५३ रन बनाए । सुरुवाती चरणमा नेपालका बलरहरूले इंग्ल्यान्डलाई दबाबमा राखे पनि मध्यक्रमको उक्त साझेदारीले खेलको लय इंग्ल्यान्डतर्फ मोडियो ।
ओपनर फिल साल्टलाई नेपालका नवप्रवेशी शेर मल्लले मात्र एक रनमा आउट गर्दै ऐतिहासिक विकेट लिए । जस बटलरले १७ बलमा २६ रन जोडे भने टम बान्टम दुई रनमै सन्दीप लामिछानेको एलबीडब्लू धरापमा परे ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान दुई–दुई विकेट लिए । दीपेन्द्रले बेथेल र साम करनलाई बोल्ड गर्दा नन्दनले बटलर र ब्रुकलाई पभेलियन फर्काए । सन्दीप र शेरले एक–एक विकेट लिए ।
अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाल र इंग्ल्यान्डबीचको यो पहिलो भेट हो । विश्वकपको मञ्चमा बलियो इंग्ल्यान्डविरुद्ध १८५ रनको लक्ष्य पछ्याउनु नेपालका लागि कठिन भए पनि, यसले ऐतिहासिक जितको सम्भावना जीवित राखेको छ ।





