के हो मार्जिन कारोबार ? थोरै पुँजीमा सेयर लगानी गर्ने वैधानिक सुविधा
२०८२ माघ २८, बुधबार २१:५१
काठमाडौं माघ २८ ,सेयर बजारमा लगानी गर्न चाहने तर पर्याप्त पुँजी नहुने लगानीकर्ताका लागि मार्जिन कारोबार उपयोगी माध्यम बनेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालै ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०८२’ लागू गरेसँगै अब लगानीकर्ताले बैंक मात्र होइन, धितोपत्र ब्रोकर कम्पनीमार्फत पनि मार्जिन ऋण लिएर सेयर कारोबार गर्न पाउने भएका छन् ।
मार्जिन कारोबार भनेको लगानीकर्ताले सेयर खरिद गर्दा कुल रकमको केही अंश आफैंले भुक्तानी गर्ने र बाँकी रकम ब्रोकर वा बैंकबाट ऋणका रूपमा लिएर कारोबार गर्ने व्यवस्था हो । निर्देशिकाअनुसार लगानीकर्ताले सेयरको बजार मूल्यको न्यूनतम ३० प्रतिशत रकम प्रारम्भिक मार्जिनका रूपमा जम्मा गर्नुपर्नेछ । बाँकी रकम मार्जिन ऋणअन्तर्गत उपलब्ध हुनेछ ।
सेबोनका अनुसार यस व्यवस्थाले पुँजी बजारमा लगानीको पहुँच विस्तार गर्ने र कारोबारको मात्रा बढाउने अपेक्षा गरिएको छ । यसअघि मार्जिन सुविधा लिन लगानीकर्तालाई बैंक तथा वित्तीय संस्थामा धाउनुपर्ने बाध्यता थियो । अब ब्रोकरमार्फत नै सुविधा उपलब्ध भएपछि प्रक्रिया सहज र छरितो हुने बोर्डको विश्वास छ ।
निर्देशिकाले सबै सूचीकृत कम्पनीका सेयरमा मार्जिन कारोबारको सुविधा दिने व्यवस्था गरेको छैन । कम्पनीको नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी हुनुपर्ने, पछिल्ला तीन आर्थिक वर्षमध्ये कम्तीमा दुई वर्ष नाफा गरेको हुनुपर्ने र कम्तीमा दुई वर्षअघि आईपीओ भई सूचीकरण भएको हुनुपर्ने जस्ता सर्त तोकिएका छन् ।
मार्जिन कारोबारमा लगानीकर्ताले कारोबार अवधिभर न्यूनतम २० प्रतिशत मार्जिन कायम राख्नुपर्नेछ । यदि सेयरको मूल्य घटेर यो सीमा कायम हुन नसकेमा ब्रोकरले लगानीकर्तालाई थप रकम जम्मा गर्न सूचना दिनेछ, जसलाई ‘मार्जिन कल’ भनिन्छ । तोकिएको समयभित्र मार्जिन कायम नभएमा ब्रोकरले सेयर बिक्री गरी आफ्नो बक्यौता असुल गर्न सक्ने व्यवस्था निर्देशिकामा गरिएको छ
बजार जानकारहरूका अनुसार मार्जिन कारोबारले लगानीकर्तालाई नाफा बढाउने अवसर प्रदान गरे पनि जोखिम पनि उच्च हुन्छ । बजार ओरालो लाग्दा नोक्सानी दोब्बर हुन सक्ने भएकाले यस सुविधाको प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने उनीहरूको सुझाव छ ।
समग्रमा, नयाँ निर्देशिकाअनुसारको मार्जिन कारोबार व्यवस्था नेपाली पुँजी बजारलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ । तर, लगानीकर्ताले आफ्नो जोखिम क्षमता मूल्यांकन गरी जिम्मेवार ढंगले यो सुविधा प्रयोग गर्नुपर्ने देखिन्छ ।




