काठमाडौं, १ फागुन – प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसरको रूपमा अघि सारेकी छिन्। उनले शुक्रवार ताप्लेजुङको पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दा र सरकारी अधिकारीहरूसँगको भेटमा सबै मिलेर निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिएकी छिन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “यो निर्वाचन सामान्य निर्वाचन होइन, यसले राष्ट्रको भविष्य निर्धारण गर्छ। त्यसैले शान्ति, सुरक्षा, स्वच्छता र मितव्ययिता सबै पक्षबाट भविष्यका लागि उदाहरण बन्नेगरी काम गर्न आवश्यक छ।”

उनीसँगै रहेका ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ, र सुरक्षा अधिकारीहरूले निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे विस्तृत जानकारी दिएकाले प्रधानमन्त्री कार्कीले तोकिएको समयमा शान्तिपूर्ण निर्वाचन हुनेमा ढुक्क रहेको बताइन्।

ताप्लेजुङमा ९०,३२७ मतदाता रहेका छन् र यहाँ एक मात्र निर्वाचन क्षेत्रमा ८२ मतदानस्थल स्थापना गरिएको छ। तीमध्ये चारवटा मतदानस्थल भौगोलिक रूपमा कठिन र हिमाली क्षेत्रमा पर्ने भएकाले विशेष सुरक्षा र व्यवस्थापन आवश्यक छ।

प्रधानमन्त्री कार्कीले सम्पूर्ण प्रशासनिक संरचनालाई जिम्मेवारी र गंभीरताका साथ निर्वाचन सम्पन्न गराउन निर्देशन दिएकी छिन्।