काठमाडौँ फागुन २, राष्ट्रिय उपभोक्ता मञ्चले लङ ग्रेन बासमती चामल आयातमा संलग्न ‘नक्कली उद्योग’को पोल सार्वजनिक गर्दै अर्बौं रुपैयाँको कर छलि भएको आरोप लगाएको छ।

अध्यक्ष प्रेमलाल महर्जनले दर्ता नै नभएको ‘सेन्चुरी फुड इन्डस्ट्री’को नाममा आयात देखाएर राज्यलाई ठुलो नोक्सानी पुर्‍याइएको कडा शैलीमा प्रहार गरे। सुनसरी क्षेत्रमा उद्योग भएको भनि प्रचार भए पनि वास्तविक उत्पादन इकाइ नभई गोदाम मात्रै भेटिएको उनले जनाए।

 ‘उद्योगको आवरणमा भन्सार छुट र भ्याट फिर्ता हत्याउने खेल भइरहेको छ, चामल सिधै गोदाममा प्याकिङ गरेर बजारमा पठाइन्छ,’ उनले आक्रोश व्यक्त गर्दै भने।

महर्जनले ट्रेडिङ र उद्योगबीचको भन्सार दर अन्तर दुरुपयोग गर्ने गिरोह सक्रिय भएको र भारतको हरियाणाबाट ‘सेमी–प्रोसेस्ड’ भनिए पनि पूर्ण तयार चामल आयात भइरहेको प्रमाण आफूसँग रहेको बताए।

पुस १० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता गर्दा पनि सुनुवाइ नभएको भन्दै उनले सरकारको निष्क्रियता प्रति कडा आलोचना गरे। ‘दैनिक उपभोग्य वस्तुमा भइरहेको घोटालामाथि तुरुन्त छानबिन गरी दोषीलाई कारबाही गर्नु अपरिहार्य छ,’ उनले चेतावनी दिए।