सर्वार्थसिद्धि योगसहितको महाशिवरात्रि : साधना, श्रद्धा र सिद्धिको महापर्व
२०८२ फाल्गुन ३, आईतवार ११:५४
काठमाडौ फागुन ३,फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि हिन्दू धर्मावलम्बीका लागि अत्यन्त पवित्र र शक्तिशाली पर्व मानिन्छ। यस वर्ष महाशिवरात्रि अझ विशेष बनेको छ, किनभने यस दिन सर्वार्थसिद्धि योगको दुर्लभ संयोग जुरेको छ।
ज्योतिष शास्त्रअनुसार, सर्वार्थसिद्धि योगमा गरिने पूजा, व्रत र साधनाले मनोकामना शीघ्र पूरा हुने, बाधा–अवरोध हट्ने तथा जीवनमा सकारात्मक परिवर्तन आउने विश्वास गरिन्छ।
महाशिवरात्रि विशेषगरी भगवान शिवको आराधनासँग सम्बन्धित पर्व हो। शिवलाई सृष्टिका संहारकर्ता मात्र होइन, करुणा, तपस्या र चेतनाका प्रतीकका रूपमा पनि पूजा गरिन्छ। यस दिन भक्तजनले व्रत बस्ने, शिवलिङ्गमा जल, दूध, बेलपत्र, धतुरा, अक्षता अर्पण गर्ने, मन्त्र जप गर्ने तथा रात्रि जागरण गर्दै चार पहरमा पूजा गर्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार, चार पहरको पूजा जीवनका चार अवस्थाको प्रतिनिधित्व गर्छ, जसले आत्मिक शुद्धता र मानसिक स्थिरता प्रदान गर्दछ। विशेषगरी शिव मन्त्र, महामृत्युंजय मन्त्र र शिव आरतीको पाठले नकारात्मक ऊर्जा हटाई सुख, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास गरिन्छ।
पञ्चाङ्गअनुसार फागुन कृष्ण चतुर्दशी तिथि फागुन ३ आइतबार साँझ ५ बजेर ४ मिनेटदेखि सुरु भई फागुन ४ साँझ ५ बजेर ३४ मिनेटसम्म रहनेछ। निशिता काल र प्रदोष कालको महत्वका कारण महाशिवरात्रि फागुन ३ मै मनाइनेछ।
यस पावन अवसरमा श्रद्धा, नियम र संयमका साथ गरिएको साधनाले भक्तको आत्मिक उन्नति मात्र होइन, पारिवारिक सुख–समृद्धि र सामाजिक सद्भाव पनि बढाउने विश्वास गरिन्छ। त्यसैले, सर्वार्थसिद्धि योगसहित आएको यस वर्षको महाशिवरात्रि प्रत्येक भक्तका लागि साधना र सिद्धिको सुनौलो अवसरका रूपमा रहेको छ।




