‘भाइरल’ मालकिस्ट बिस्कुटको रहस्यमय व्यापार : नियमनबिनै बजारभरि खुलेआम बिक्री
२०८२ फाल्गुन ३, आईतवार १२:२८
काठमाडौं फागुन ३, सामाजिक सञ्जालमा अत्यधिक चर्चामा आएपछि इन्डोनेसियाली ब्रान्ड ‘मालकिस्ट’ बिस्कुट नेपाली बजारमा एकाएक लोकप्रिय बनेको छ। राजधानीका ठूला–साना किराना पसलदेखि अनलाइन मार्केटप्लेस दराज सम्म यो बिस्कुट सजिलै किन्न पाइन्छ। तर, यति ठूलो परिमाणमा बिक्री भइरहँदा पनि यसलाई कसले, कहाँबाट र कुन प्रक्रियाबाट भित्र्याइरहेको छ भन्ने विषयमा सरकारी निकाय नै अनभिज्ञ देखिएका छन्।
खाद्य पदार्थ आयातका लागि अनिवार्य रूपमा पूरा गर्नुपर्ने दर्ता, गुणस्तर परीक्षण तथा अनुमति प्रक्रियाबारे सम्बन्धित निकायले कुनै आधिकारिक जानकारी नपाएको बताएका छन्। न त मालकिस्ट बिस्कुट नेपालमा दर्ता भएको अभिलेख नै भेटिएको छ।
बजार अनुगमन गर्ने निकायका अधिकारीहरूका अनुसार सामाजिक सञ्जालको प्रभावले उपभोक्ताबीच माग बढ्दा अवैध आयातले सहज बाटो पाएको हुनसक्छ। “बजारमा देखिएपछि मात्र जानकारी आउने अवस्था चिन्ताजनक हो,” एक अधिकारी भन्छन्, “यसले उपभोक्ताको स्वास्थ्य र राज्यको राजस्व दुवैमा जोखिम बढाउँछ।”
उपभोक्ता अधिकारकर्मीहरू भने यसलाई गम्भीर लापरबाहीको उदाहरण मान्छन्। उनीहरूका अनुसार, खाद्य वस्तुमा लेबलिङ, म्याद, पोषण विवरण र गुणस्तर मापदण्ड स्पष्ट नभएसम्म बिक्री रोक्नुपर्छ।
अहिले मालकिस्ट बिस्कुटको लोकप्रियता जति बढेको छ, त्यति नै प्रश्न पनि थपिँदै गएका छन्—यो बिस्कुट नेपालमा कसरी आयो? कसको जिम्मेवारीमा आयो? र किन नियामक निकायको नजरबाट उम्कियो?
सरकारले तत्काल अनुसन्धान गरी आयातकर्ताको पहिचान, कानुनी प्रक्रिया र गुणस्तर परीक्षणको अवस्था सार्वजनिक नगरेसम्म यस्ता प्रश्नहरूको जवाफ नआउने देखिन्छ।




