काठमाडौं फागुन ४, भारत सरकारले नेपाल र भारतलाई जोड्ने महत्वाकांक्षी पशुपतिनाथ–बैद्यनाथ हाई–स्पिड करिडोर निर्माण प्रस्ताव स्वीकृत गरेको छ । यो करिडोर नेपालका पवित्र तीर्थस्थल पशुपतिनाथ मन्दिर र भारतको झारखण्डस्थित बैद्यनाथ धाम लाई प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यसहित अघि बढाइएको हो ।

प्रस्तावित करिडोर काठमाडौं बाट सुरु भई भीमनगर र वीरपुर हुँदै बिहारको सुपौल र भागलपुर पार गर्दै झारखण्डको देवघर सम्म पुग्नेछ । भारतको केन्द्र सरकारले सम्बन्धित मन्त्रालय तथा निकायलाई आयोजना कार्यान्वयनका लागि आवश्यक प्रशासनिक र प्राविधिक तयारी अघि बढाउन निर्देशन दिइसकेको छ ।

यो हाई–स्पिड करिडोर निर्माण भएपछि दुई देशका प्रमुख धार्मिक स्थलबीचको यात्रा सहज, छिटो र सुरक्षित हुने विश्वास गरिएको छ । साथै, धार्मिक पर्यटन प्रवर्द्धन भई नेपाल र भारत दुवै देशको पर्यटन अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

सीमावर्ती क्षेत्रको पूर्वाधार विकास, रोजगारी सिर्जना तथा व्यापारिक गतिविधि विस्तारमा समेत यो आयोजना महत्वपूर्ण हुने सरकारी पक्षको भनाइ छ ।

सरकारका अनुसार करिडोरले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र दुवै देशबीचको जनस्तरको सम्पर्कलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।