ढाका फागुन ५, बंगलादेशका अन्तरिम प्रधानमन्त्री महाेमद युनुसले निर्वाचित सरकारलाई सत्ता सुम्पिनुअघि दिएको विदाई भाषणले दक्षिण एशियाली कूटनीतिक वृत्तमा नयाँ बहस जन्माएको छ ।

युनुसले भाषणमा बंगलादेशको खुला समुद्रलाई केवल भौगोलिक सीमा नभई विश्व अर्थव्यवस्थासँग जोडिने ‘खुला ढोका’का रूपमा व्याख्या गर्दै नेपाल, भुटान र पूर्वोत्तर भारतका सेभेन सिस्टर्स क्षेत्रमा ठूलो आर्थिक सम्भावना रहेको उल्लेख गरे । भारतको नाम प्रत्यक्ष नलिइए पनि सेभेन सिस्टर्सको प्रसंग जोडिएपछि भारतीय सञ्चारमाध्यममा व्यापक प्रतिक्रिया देखिएको छ ।

विविसीका अनुसार युनुसको अभिव्यक्तिलाई भारतका ती सात राज्यको पहिचान र राजनीतिक हैसियतसँग जोडेर हेरिएको छ । कतिपय विश्लेषकले यसलाई ती राज्य स्वतन्त्र हुनुपर्ने सन्देशको पुनरावृत्तिका रूपमा व्याख्या गरेका छन् ।

युनुसले यसअघि पनि सेभेन सिस्टर्स समुद्रसँग प्रत्यक्ष सम्पर्कविहीन भएकाले बंगलादेश नै उनीहरूको ‘अभिभावक’ हुन सक्ने तर्क अघि सारेका थिए । यो अभिव्यक्तिले भारतको संवेदनशील सिलगुडी कोरिडोर (चिकेन नेक) वरिपरि सुरक्षा र रणनीतिक चिन्तालाई पुनः सतहमा ल्याएको छ ।

विश्लेषकहरूका अनुसार युनुसको यो भनाइले दक्षिण एशियामा भू–राजनीतिक सन्तुलन, क्षेत्रीय सहकार्य र शक्ति प्रतिस्पर्धाबारे बहस अझ तीव्र बनाउने संकेत गरेको छ ।