जनकपुर फागुन ७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा ले पार्टी परित्याग गरेकी छन् ।

हाल पार्टीको केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् । विज्ञप्ति जारी गर्दै उनले पार्टीभित्र इमानदार व्यक्तिको मूल्यांकन नहुने अवस्था सिर्जना भएको र आर्थिक अनियमितताले पार्टीका निर्णय प्रभावित भएको आरोप लगाएकी छन् ।

विज्ञप्तिमा उनले भनेकी छन्, ‘आर्थिक अनियमितताबाट प्रेरित निर्णयहरूले मेरो आत्मसम्मान र राजनीतिक मूल्यमा आँच आउने परिस्थिति बनेको छ । यस्ता गतिविधिको साक्षी बसेर अब मौन रहन सकिनँ । त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा पेश गर्दछु ।’

यसअघि पनि टिकट वितरणलगायत विषयमा आर्थिक चलखेल भएको आरोप लगाउँदै रास्वपाका केही नेताहरूले पार्टी परित्याग गरिसकेका छन् । पछिल्लो घटनाले पार्टीभित्रको आन्तरिक असन्तुष्टि थप सतहमा आएको देखिन्छ ।