विराटनगर फागुन ७,आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकले सीमाक्षेत्रमा कडाइका साथ सुरक्षा संयन्त्र परिचालन गर्ने निर्णय गर्दै निर्वाचन अवधिलाई संवेदनशील समयका रूपमा लिएको छ।

नेपालतर्फका मोरङ, झापासुनसरी तथा भारततर्फका किशनगंज, अररियासुपौल जिल्लाका उच्च सुरक्षा अधिकारीहरूको सहभागितामा सुरक्षा रणनीतिबारे गहन छलफल भएको हो।

बैठकको प्रमुख निष्कर्षअनुसार मतदान मितिभन्दा ७२ घण्टा अगाडि नै सबै प्रमुख सीमा नाकाहरू पूर्ण रूपमा बन्द गरिनेछ। यस निर्णयले सीमापार आवागमन नियन्त्रण गर्दै अवाञ्छित गतिविधि रोक्ने लक्ष्य लिएको छ।

बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र अररिया जिल्लाका डिष्ट्रिक मजिस्ट्रेट विनोद दुहान ले सह–अध्यक्षता गरेका थिए। दुवै पक्षले संयुक्त सीमा गस्ती थप प्रभावकारी बनाउने, सूचना आदान–प्रदान तीव्र पार्ने तथा आकस्मिक सुरक्षा चुनौतीहरूलाई तत्काल सम्बोधन गर्ने सहमति जनाएका छन्।

बैठकले विशेष गरी लागूऔषध ओसारपसार, मानव बेचबिखन, जाली नोट कारोबार, हतियार तथा नगद तस्करी र तेस्रो देशका नागरिकहरूको अनधिकृत प्रवेशजस्ता गतिविधि नियन्त्रणमा निरन्तर समन्वय र सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।

सीमा सुरक्षालाई निर्वाचनको मेरुदण्ड मान्दै दुवै देशका प्रशासनिक संयन्त्रबीच विश्वास र सहकार्यको सन्देश पनि बैठकले दिएको देखिन्छ। चुनावी माहोल तातिँदै जाँदा सीमाक्षेत्रमा कडाइको संकेतसँगै सतर्कता बढ्ने स्पष्ट संकेत मिलेको छ।