विकट हुम्लामा १५ मतदान केन्द्रमा ३०० भन्दा कम मतदाता
२०८२ फाल्गुन १३, बुधबार ०९:५४
हुम्ला, फागुन १२ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४ मतदान केन्द्रमध्ये १५ केन्द्रमा तीन सयभन्दा कम मतदाता रहेका छन्। भौगोलिक विकटता र मौसमी प्रतिकूलताले निर्वाचन व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ।
जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाका अनुसार जिल्लामा कुल ३४ हजार ३७२ मतदाता रहेका छन्। तीमध्ये सबैभन्दा कम मतदाता बानादेव आधारभूत विद्यालय मतदान केन्द्रमा छन्, जहाँ जम्मा ५४ जना मतदाता रहेका छन्। उक्त केन्द्र ताँजाकोट गाउँपालिका–३ मा पर्छ र गाउँपालिकाको केन्द्रबाट पैदल एक दिन लाग्ने दूरीमा अवस्थित छ। त्यहाँसम्म हालसम्म सडक सञ्जाल पुगेको छैन।
सर्केगाड गाउँपालिका मा ३०० भन्दा कम मतदाता भएका तीन मतदान केन्द्र छन्। वडा नं. १ स्थित देबल आधारभूत विद्यालय मा २४०, धुमचुली आधारभूत विद्यालय मा २१६ र नीलकण्ठ प्रावि मा २८८ मतदाता रहेका छन्।
त्यस्तै चङ्खेली गाउँपालिका अन्तर्गतका डाँफे आधारभूत विद्यालय (२४२), रारा आधारभूत विद्यालय (१४३) र रामशाह आधारभूत विद्यालय (२१२) मतदान केन्द्रमा पनि मतदाता संख्या तीन सयभन्दा कम रहेको छ।
जिल्लाको उत्तरी भेगस्थित नाम्खा गाउँपालिका का आठ मतदान केन्द्रमध्ये अधिकांशमा यतिबेला बाक्लो हिउँ जमेको छ। हिमशिखर प्रावि (१३२), भृकुटी प्रावि (२४७) र सुनखानी प्रावि (२९३) लगायतका केन्द्रमा मतदाता संख्या न्यून छ। यद्यपि ती गाउँका अधिकांश मतदाता हाल जिल्ला सदरमुकाम वा अन्य सहरी क्षेत्रमा बसोबास गरिरहेका बताइएको छ।
त्यसैगरी अरनिको प्रावि (१९५), खासरपानी प्रावि (२३४), हिमालय प्रावि (१५९), महाबौद्ध मावि (२८०) र नमोडोछोमु प्रावि (१५९) मा पनि मतदाता संख्या न्यून छ।
मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार यारी र न्यालु लेक क्षेत्रमा जमेको हिउँका कारण केही केन्द्रमा पुग्न कठिनाइ भइरहेको छ। स्काभेटरमार्फत हिउँ पन्छाउने काम सुरु गरिए पनि पूर्णरूपमा सहज हुने अवस्था देखिएको छैन।
यसबीच जिल्लाकै सबैभन्दा धेरै मतदाता रहेको केन्द्र मालिका माध्यमिक विद्यालय मा १,०६३ जना छन्। त्यसपछि मष्टादेव आधारभूत विद्यालय मा ९७७ र कोट मावि मा ९३६ मतदाता रहेका छन्।
भौगोलिक विकटता, न्यून जनसंख्या र प्रतिकूल मौसमका बीच हुम्लामा निर्वाचन तयारी चुनौतीपूर्ण देखिएको छ।




