Oplus_131072

नयाँदिल्ली फागुन १६,भारतमा चर्चित बनेको कथित ‘शराब नीति’ भ्रष्टाचार प्रकरणमा अन्ततः अदालतले अरविन्द केजरीवाल र मनिष सिसोदिया लाई सफाइ दिएको छ।

 लामो समयसम्म चलेको कानुनी प्रक्रियापछि अदालतको निर्णयसँगै दुवै नेता कानुनी रूपमा निर्दोष ठहरिएका हुन्।

आम आदमी पार्टी (आप) का शीर्ष नेतृत्वविरुद्ध लगाइएका आरोपहरू सुरुदेखि नै राजनीतिक प्रेरित भएको दाबी गर्दै आएको थियो। पार्टीले महिनौंसम्म जेल हिरासत, पटक–पटक सारिएका सुनुवाइ र मुद्दा लम्ब्याउने रणनीतिलाई योजनाबद्ध दमनको संज्ञा दिएको थियो।

 अदालतबाट सफाइ पाएपछि आपले आफ्नो अडान सही सावित भएको दाबी गरेको छ।

सार्वजनिक प्रतिक्रिया दिँदै केजरीवाल भावुक देखिए। उनले “केजरीवाल इमान्दार छ” भन्दै आफ्ना समर्थकप्रति आभार प्रकट गरे। उनका समर्थकहरूले यसलाई सत्य र न्यायको जितका रूपमा व्याख्या गरेका छन्। भ्रष्टाचारविरुद्धको आन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदाएका केजरीवालले सुरुदेखि नै आफूहरूलाई बदनाम गर्न सुनियोजित प्रयास भएको बताउँदै आएका थिए।

पार्टीका अनुसार मुद्दामा ठोस प्रमाण पेश हुन नसक्दा अदालतले सफाइ दिनुपरेको हो। आपले यस प्रकरणले दिल्लीको राजनीतिक वातावरणमा प्रभाव पारेको र निर्वाचन परिणामसमेत प्रभावित भएको दाबी गरेको छ।

यसै सन्दर्भमा, अभियन्ता तथा वैज्ञानिक सोनम वांगचुक को मुद्दा पनि पुनः चर्चामा आएको छ। उनीमाथि भएको कारबाहीलाई लिएर मानवअधिकारकर्मीहरूले प्रश्न उठाइरहेका छन् र अधिकार मागेकै कारण कानुनी दवाब झेल्नु परेको आरोप लगाइरहेका छन्।

केजरीवाल र सिसोदियालाई सफाइ मिलेपछि भारतीय राजनीतिक वृत्तमा ‘शराब नीति’ प्रकरण पुनः बहसको केन्द्रमा पुगेको छ। विपक्षी दलहरूले यसलाई राजनीतिक दमनको उदाहरण भनेका छन् भने सत्तापक्षले अदालतको निर्णयलाई सम्मान गर्ने प्रतिक्रिया दिएको छ।