काठमाडौं ,फागुन १६,कुवेत र इराकमा बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन कुवेतस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ।

 पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै दूतावासले दुवै देशका सरकारले जारी गरेका सबै सुरक्षा निर्देशन कडाइका साथ पालना गर्न अनुरोध गरेको हो।

दूतावासले सकेसम्म घरभित्रै सुरक्षित बस्न, अत्यन्त आवश्यक कामबाहेक बाहिर ननिस्कन र अनावश्यक यात्रा नगर्न सुझाव दिएको छ। साथै, आ–आफ्नो क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि भनिएको छ।

हाल कुवेतको हवाई क्षेत्र बन्द रहेकाले कुवेतबाट बाहिरिने वा कुवेत भित्रिने यात्रुहरूले सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गरी उडान अवस्थाबारे यकिन गर्नुपर्ने दूतावासको सूचनामा उल्लेख छ।

यसका साथै स्थानीय समाचार, सरकारी आधिकारिक सूचना तथा आ–आफ्ना कम्पनीबाट जारी निर्देशनबारे नियमित जानकारी राखी सुरक्षित रहन दूतावासले आग्रह गरेको छ।